पाल्पा ,प्रथम टाेल स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता एवं सम्मान कार्यक्रम रामपुर १ पाल्पामा साेमबार सम्पन्न भएकाे छ । १ नं. वडा कार्यालयकाे आयाेजनामा भलिबल प्रतियोगिता सहित विभिन्न खेलाडीहरुलाई सम्मान गरेकाे हाे ।
खेलाडीहरुलाई सम्मान सहित पुरस्कार वितरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले खेलकुदले युवाहरुकाे आफ्नो व्यक्तित्व विकास संगै समग्र नगरपालिकाकाे पहिचानमा टेवा पुर्याउने बताउनुभयो । उहाँले सिमित स्राेत साधनका विच पनि खेलकुदकाे क्षेत्रमा लागेर प्राप्त गरेका उपलब्धि प्रशंसनीय रहेकाे बताउनुभयो । नगर प्रमुख थापाले खेलकुदकाे क्षेत्रमा सरकारले साेचे अनुसारको लगानी गर्न नसक्नु दुखद भएको भन्दै खेलाडीकाे क्षमता विकास संगै खेलकुदकाे विकासका लागि नगरपालिका प्रतिबद्ध रहेकाे बताउनुभएको छ । कार्यक्रममा रामपुर नगरपालिकाका प्रवक्ता एवं वडा नं.१ का अध्यक्ष कपिल बहादुर खाँणले वडाकाे खेलकुदकाे विकास र खेलाडीहरुकाे प्राेत्सहानका लागि सम्मान गरिएको बताउनुभयो । उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय , प्रदेश,जिल्ला र नगर स्तरीय खेलकुद क्षेत्रमा उत्कृष्ट खेलाडीहरुलाई सम्मान गरेकाे बताउनुभयो । कार्यक्रममा खेल संयाेजक विष्णु बहादुर थापाले वडाभित्रका खेलाडीहरुकाे प्रतिभा प्रस्फुटनका लागि टाेल स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताकाे आयाेजना गरिएको बताउनुभयो ।
भलिबल प्रतियोगिता अन्तर्गत पुरुषतर्फ प्रथम कुमैडाँडा टाेल विकास संस्था ,द्धितिय स्याउलीबजार टाेल विकास संस्था र तृतीय पन्थे टाेल विकास संस्था भएकाे छ । यस्तै महिला तर्फ प्रथम साँखर्दी टाेल विकास संस्था, द्धितिय बर्दाकाेट टाेल विकास संस्था र तृतीय पन्थे टाेल विकास संस्था भएकाे छ । प्रतियोगितामा पुरुषतर्फ प्रथम ,द्धितिय र तृतीय हुने समुहले क्रमश नगद ९ हजार ,६ हजार ५ सय ,२ हजार ५ सय र महिला तर्फ प्रथम , द्धितिय र तृतीय हुने समुहले क्रमश ७ हजार ,३ हजार ५ सय र १ हजार ५ सय रुपैयाँ सहित भलिबल र नेट प्राप्त गरेकाे छ । प्रतियोगितामा ७/७ समूहकाे सहभागीता रहेकाे थियो । सहभागी सबै पुरुष र महिला समुहलाई भलिबल र नेट प्रदान गरिएको छ ।
कार्यक्रममा वडा भित्रका १७ जना खेलाडीहरुलाई नगद सहित सम्मान गरेकाे छ । वडाले पूर्व राष्ट्रिय भलिबल खेलाडी सागर मल्ल सहित नगर जिल्ला, प्रदेश र राष्ट्रिय स्तरका खेलाडीलाई सम्मान गरेकाे हाे । रामपुर नगरपालिका वडा नं.१ काे कार्यालय भवन प्राङ्गणमा भएकाे कार्यक्रम वडा नं.१ का अध्यक्ष कपिल बहादुर खाँणकाे अध्यक्षता र नगर प्रमुख रमण बहादुर थापाकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे । कार्यपालिका सदस्य देवका पाेखरेलकाे स्वागतबाट सुरु भएकाे कार्यक्रमकाे सञ्चालन शिक्षक विष्णु खाँणले गर्नु भएकाे थियाे । माघे संक्रान्ति पर्वकाे पूर्व सन्ध्या पाैष २८ र २९ गते २ दिन सम्म भएकाे कार्यक्रममा सहभागीलाई कृषि उत्पादन तथा स्थानीय परिकारकाे प्रबर्द्धनका लागि वडा कार्यालयले वडा नं.१ काे बर्दाकाेटमा उत्पादन भएकाे बाेडा बाडीबाट महिला समुहले तयार गरेकाे मगरी परिकार बटुक खाजा प्रदान गरेकाे थियोे ।