‘द भ्वाइस अफ नेपाल’ मा प्रवेश गर्नु भएका प्रनिप बराल को हुन् ?

माघ २९ ।
पाल्पा, माघको पहिलो हप्ता देखि सुरु भएको चर्चित सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन–६ चलिरहेको छ । छैटौं सिजनको ब्लाइन्ड राउण्ड चलिरहँदा छनौट हुन सफल कलाकारहरुको चर्चा देश देखि विदेश सम्म चलिरहेको छ ।

गत हप्ता उत्कृष्ट प्रस्तुति दिएर ब्लाइन्ड राउण्ड पार गर्न सफल प्रनिप बराल मगरले पनि दर्शक र स्रोताको मन जित्न सफल हुनु भएको छ । शनिबार प्रशारण भएको यस सिजनको आठौं एपिसोडमा हल्ला चलेछ…. गीत प्रस्तुत गर्नु भएका प्रनिपको आवाज र प्रस्तुतिले प्रशंसा बटुल्न सफल भएको छ ।

को हुन् प्रनिप बराल ?

पाल्पा जिल्लाको रामपुर नगरपालिका वडा नं. ३ (साविक दर्छा गा.वि.स.) डावरा मा बाबु विष्णु बराल र माता भुनु कुमारी बरालको छोरा प्रनिप बराल वि.सं २०५४ श्रावणमा जन्मिनु भएको हो । आमाबुवाको जागिरका कारण उहाँको बालापन पाल्पाको विभिन्न स्थानमा वितेको थियो ।

बालापनको केही समय आमा गैरसरकारी संस्था रेड् बर्नामा रहँदा पाल्पाको झिरुवास र कहिले घर दर्छामा वितेको हो । पछि ब्‌वाको जागिर भैरवस्थानको भैरव जनता माविमा र आमाको जागिर युनाइटेड मिसन अस्पतालमा भएपछि तानसेन मै उहाँ हुर्किनु भएको हो । सानै उमेर देखि हक्की र हार नमान्ने स्वभावको उहाँलाई बुवाआमाले डब्लुटीएफ र पछि आईटीएफ टेक्वान्डोमा भर्ना गराउनुभयो । उहाँ खेलमा पनि अव्वल नै हुनुहन्थ्यो ।

तानसेन स्थित न्यू होराइजन मा.वि. (तत्कालीन समयको न्यू होराइजन ईङ्गलिश बोडिङ्ग स्कूल प.प. मावि परिसरमा थियो) बाट नर्सरी देखि सूरु गर्नु भएका उहाँले विज्ञान विषयमा कक्षा १२ उत्तीर्ण गरी त्रिभूवन बहुमूखी क्याम्पस पाल्पाबाट विविए उत्तीर्ण गर्नुभएको छ ।
दर्छाको डावराका मुखिया परिवारमा जन्मिनु भएका उहाँका बुवा आमा धनी, मुखिया खानदानी परिवारको हुनु भएको भएपनि आगलागीका कारण केही समय न्यून परिवेशमा गुज्रिन पुगेको थियो । प्रनिपको परिवार कडा संघर्ष गरी आज एक सफल र शिक्षित बराल परिवार बाबा हाल पाल्पाको २००४ सालमा स्थापित पुरानो हाइस्कूल पद्म पब्लिक मा.वि.का प्रधानाध्यापक हुनुहुन्छ । एक सफल नृत्य कोरियोग्राफर तथा गीत रचनाकार पनि हुनुहुन्छ भने आमा हाल तानसेन न.पा.बाट संचालित पाल्पाली होजियरी उद्योग तानसेनका अध्यक्ष लगायत विभिन्न सामाजिक संघ संस्थामा क्रियाशिल रहँदै आउनु भएको छ ।

उहाँका बहिनी नर्स हुनुहुन्छ । आफ्‌नो गाउँ भनेपछि हुरुक्क हुने प्रनिपका परिवारका सबै सदस्यहरु सामाजिक सेवा भावमा हुर्केका प्रनिपका जिजु हजूरबुवा, हजूरबुवा नाचन, सोरठी र कौराका गुरु बा नाइके हुनुहुन्थ्यो भने उहाँका जिजु हजूरआमा घाटुका गूरुआमा रहेको इतिहास उहाँका बुवा विष्णु बराल बताउनुहुन्छ । बाबा आमाले प्रनिपलाई नृत्य तर्फ पनि रुचि लिएर नृत्यकला सेन्टरमा भर्ना गराउनु भएको थियो । त्यहीबाट उहाँले नृत्य प्रर्दशन गर्न थाल्नु भएको थियो । हक्की स्वभावका उहाँ पछि विस्तारै संगीत साधना र गायन तर्फ आकर्षित हुनु भएको थियो । विशेष गरी पप, रक र आधुनिक गीततर्फ आफ्‌नो कला र गलामा पालिस लगाउदै गए पछि घरबाट पनि उहाँको ईच्छालाई बुझेर सहयोग गर्न थालेको उहाँको बुवाले बताउनुभयो ।

गीत र संगीत मै केन्द्रित हुनु भएका उहाँले संगीत साधनाका लागि घरमै विभिन्न बाजा संकलन गरेर संगीत कोठा निर्माण गर्नु भएको छ । खास गरी वंशाणुगत नै भएर होला उहाँको नशा नशामा संगीतको धुन विशेषगरी गितारको धुनले छोएको हुन्छ । गीत संगीतको अभ्यासमा व्यस्त प्रनिप रातमा प्राय २ बजे सुत्ने उहाँको आमा भुनु कुमारी बराल बताउनु हुन्छ । देउसी, भैलो, फागु प्राय तानसेन ,बुटवल, भैरहवा चितवन, पोखराको कन्सर्टमा व्यस्त रहने प्रनिप पढाइमा पनि अव्वल हुनुहुन्छ । कमाएका केही रकम उहाँले सामाजिक कार्यमा खर्च गर्ने गर्नुहुन्छ । उहाँले आफ्‌नै रचनामा ‘दीपको मयन पग्लेर जान्छ’, गीत गाउनुका साथै त्यसमा मोडल पनि गरिसक्नु भएको छ ।

भखैरै मात्र द भ्वाइस अफ नेपालको सिजन–६ मा उहाँले नेपालका वरिष्ठ गायक राजु लामाको गीतमा आफ्‌नो दमदार स्वर प्रस्तुत गरेर पाल्पालीको इज्जतलाई करोडौंको माझ चिनाउनु भएको छ । सिजन–६ मा द भ्वाइस अफ नेपाल को मन जित्न सफल भएका उहाँ भन्नुहुन्छ, ‘मेरो इच्छा र खुबीले जिते पनि हारे पनि पाल्पालाई निरन्तर संस्कृति र कलाको धनी जिल्ला हो भनेर चिनाउनु छ ।’ पढाइ र गायन कला संगै लैजाने कुरा बताउने प्रनिप बराल अहिले संगीत साधना मै व्यस्त हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?