रामपुरमा एक सय १२ सामुदायिक कुकुरको शिविर मार्फत स्थायी बन्ध्याकरण

फागुन २ ।
पाल्पा, सामुदायिक कुकुरको व्यवस्थापन र रेविजको जोखिम न्यूनिकरणका लागि स्थायी बन्ध्याकरण शिविर रामपुरमा सम्पन्न भएको छ । रामपुर नगरपालिकाको आयोजना, वातावरण तथा सामाजिक रुपान्तरणका लागि युवा सिद्धार्थ नगर रुपन्देही र मानव पशु तथा बाली संरक्षणका लागि युवा भरतपुर चितवनको प्राविधिक सहयोगमा तीन शिविर सम्पन्न भएको हो ।

गत बुधबार देखि शुक्रबार सम्म भएको शिविरमा रामपुर नगर भित्रका विभिन्न टोलहरुमा रहेका सामुदायिक कुकुर नियन्त्रणमा लिई एक सय १२ वटा कुकुरको स्थायी बन्ध्याकरण गरिएको नगरपालिकाले जनाएको छ । रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले सामुदायिक कुकुरको संख्या बढ्दै जाँदा बाटोमा हिड्ने मानिसलाई मात्र नभै पशु चौपाया पनि आक्रमण गरेर त्रसित बनाउने र रेविज लगाएतका घातक रोग सार्न सक्ने जोखिम बढ्दै गएपछि तीन वर्ष देखि स्थायी बन्ध्याकरण शिविर सञ्चालन गर्दै आएको बताउनुभयो । नगरपालिकाले बजेट विनियोजन गरी शिविर सञ्चालन गर्दै आएको बताउनुभयो ।

शिविरमा बोल्दै रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले सामुदायिक कुकुरको कल्याण र मानव स्वास्थ्यका लागि शिविर सञ्चालन गरिएको बताउनुभयो । संख्या धेरै हुँदा आहारको कमी आउने भएकाले व्यवस्थापन संगै संरक्षणका लागि स्थायी बन्ध्याकरण र रेविज विरुद्धको भ्याक्सिन शिविर सञ्चालन गरिएको उपप्रमुख थापाले बताउनुभयो । बन्ध्याकरण शिविरले कुकुरको संख्या नियन्त्रण र कुकुरकै कारण हुने अन्य दुर्घटनामा समेत कमि आएको उहाँले बताउनुभयो । सामुदायिक कुकुरका कारण रेविज रोगको जोखिम बढेकाले कुकुरको व्यवस्थापन तथा संख्या न्यूनिकरणका लागि बन्ध्याकरण गरिएको रामपुर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक दुर्गा देवि भण्डारी गौतमले बताउनुभयो । कुकुरको संख्या बढ्दै जाँदा आहारको अभावमा थप आक्रामक हुने, मानव स्वास्थ्य र मान्छेमा सर्ने रेविज रोग नियन्त्रण र न्यूनिकरणका लागि एक मात्र विकल्प स्थायी बन्धयाकरण भएको पशुचिकित्सक डा. अविनास क्षेत्रीले बताउनुभयो ।

नेपाल पत्रकार महासंघ पाल्पाका सहसचिव दुर्गेश मल्लले बन्ध्याकरण गरेका कुकुरले मानिसलाई हानी नपुर्‍याउने भन्दै रेविज जस्तो प्राणघातक रोग बाट बचाउन यो कार्यक्रम उत्कृष्ट रहेको बताउनुभयो । शिविर मार्फत विभिन्न क्षेत्रमा रहेका सामुदायिक कुकुर संकलन गरी स्थायी बन्ध्याकरण गर्दै आएको कार्यक्रम संयोजक इन्दु पन्थीले बताउनुभयो । रामपुर नगरपालिकाले यस वर्ष सामुदायिक कुकुर व्यवस्थापनका लागि तीन लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । शिविर मार्फत नगरको विभिन्न टोलमा रहेका एक सय १२ वटा कुकुरको स्थायी बन्ध्याकरण गरी रेविज विरुद्धको भ्याक्सिन दिईएको रामपुर नगरपालिकाका पशु शाखा प्रमुख तुलसीराम काफ्लेले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले हाल सम्म विभिन्न शिविर मार्फत तीन सय नौ सामुदायिक कुकुरको स्थायी बन्ध्याकरण गरिसकेको जानकारी दिनुभयो । सामुदायिक कुकुरलाई शिविर मार्फत बन्ध्याकरण गरी रेविज विरुद्धको भ्याक्सिन दिएर नियन्त्रणमा लिइएको स्थानमै छाडिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?