पाल्पा, विश्वव्यापी महामारीको रुपमा फैलिएको को*रोना भाईरस संक्रमण बँट जोगाउन देशैभर गत चैत्र ११ देखि बन्दाबन्दी जारी रहेको छ । यातायात सञ्चालन तथा अनावश्यक हिडडुलमा रोक लगाए पनि अत्यावश्यक औषधी तथा उपचार सेवा खुल्ला रहेको छ । खाद्यान्न, दुध तथा तरकारी जस्ता दैनिक उपभोग्य सामाग्रीका लागि पनि आंशिक समय तोकिएको छ ।
औषधी पसल तथा स्वास्थ्य संस्थाहरु खुल्ला रहे पनि यातायात सञ्चालन नहुँदा स्वास्थ्य संस्था भन्दा पर रहेका नागरिकहरु औषधी लिन जान सक्ने अवस्थामा छैन । लकडाउन लम्बिदै जाँदा नियमित औषधी सेवन गर्दै दिर्घरोगीहरु थप प्रभावित बन्दै आएका छन् । उनीहरुको आवश्यकतालाई लक्ष्यित गर्दै पाल्पाको रामपुर नगरपालिकाले भने नियमित औषधी सेवन गर्दै आएका विरामीहरुलाई शुक्रबार देखि टोलटोलमा पुगेर औषधी वितरण गर्न सुरु गरेको छ । नगरपालिकाले उच्च रक्तचाप, मधुमेह, दम लगाएतका रोगहरुको औषधी सेवन गर्दै आएका विरामीहरुको सहजताको लागि सम्बन्धीत स्वास्थ्य संस्थाका स्वस्थ्यकर्मीहरु परिचालन गरी औषधी वितरण सुरु गरेको हो । शुक्रबार रामपुर नगरपालिका स्वास्थ्य शाखामा कार्यरत स्वस्थ्यकर्मीहरुले वडा नं. ३ को माथिल्लो भागमा पुगेर घुम्ती सेवा सुरु गरेका छन् ।
नगर प्रमुख रमण बहादुर थापाको नेतृत्वमा गएको टोलीले रामपुर नगरपालिका वडा नं. ३ को लामटाङ्ग, गैलुक र डाबरा टोलमा पुगेर ९५ जनालाई स्वास्थ्य परिक्षण गरी औषधी प्रदान गरेको छ । घुम्ती सेवा मार्फत नियमित औषधी सेवा गर्दै आएका उच्च रक्तचाप, मधुमेह, दमका विरामीहरुलाई आवश्यकता अनुसार औषधी प्रदान गरिएको र प्रेसर, ज्वरो जाँच सहित सामान्य उपचार सेवा दिइएको रामपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले जानकारी दिनुभयो । उहाँले भन्नु भयो, ‘दिर्घरोगीहरुलाई सेवन गर्दै आएको औषधी प्रदान गरेका छौं । केहीले नयाँ औषधी पनि प्रयोग गर्दै आउनु भएको छ । उहाँहरुको लागि आवश्यता अनुसार बाहिर बाट आपूर्ति गरेर भए पनि दिने प्रयास गरेका छौं ।’
रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले जनताको स्वास्थ्य प्रति नगरपालिका प्रतिवद्ध भएर लागेको जानकारी दिनु भयो । उहाँले लकडाउनका कारण दुर्गम क्षेत्रका नागरिक औषधी पसल र स्वास्थ्य संस्था सम्म पुग्न नसक्दा उनीहरु नियमित औषधी सेवन बाट वञ्चित हुन सक्ने भएकाले स्वास्थ्य शाखा मार्फत घुम्ती सेवा सुरु गरिएको बताउनुभयो । थापाले नगरभित्रका ८ वटै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुलाई नागरिकको दैलो सम्म पुग्न निर्देशन दिईएको बताउनुभयो ।
थापाले भन्नुभयो ‘सबै नागरिक स्वास्थ्य संस्था र औषधी पसल सम्म आउन सक्ने अवस्था छैन । त्यसैले जनताको दैलो सम्म पुगेर दिर्घरोगीहरुको अवस्था परिक्षण गरी आवश्यक औषधी उपलब्धताको आधारमा प्रदान गर्न भनेका छौं । नगरपालिकामा सबै खालका औषधी नहुन पनि सक्छ उनीहरुको तथ्याङ्क संकलन गरी आवश्यता अनुसार बाहिर बाट आपूर्ति गरेर दिन निर्देशन दिएको छु ।’ स्वास्थ्य टोलीले स्थानियमा देखिएका सामान्य रोगहरुको समेत परिक्षण गरी आवश्यक औषधी तथा परामर्श दिएको छ । लकडाउनका कारण भएका औषधी सकिने र अब कसरी ल्याउने भन्ने चिन्तामा रहेका नागरिकहरु टोलमै औषधी पाए पछि खुशी भएका छन् । शुक्रबार रामपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरे, रामपुर नगरपालिकाका स्वास्थ्यकर्मीहरु पुन धिताल र कमला श्रेष्ठले स्वास्थ्य जाँच संगै औषधी प्रदान गरेका थिए ।