पाल्पा, देशभर जारी लकडाउनका विच अत्यावश्यक सवारीका लागि जिल्ला प्रशासन कार्यालयले जारी गरेको सवारी पास गृहमन्त्रालयले रद्द गरे संगै प्रहरीले थप निगरानी बढाएको छ । पाल्पाको रामपुर क्षेत्रमा पनि जेठ १ गते देखि नै थप निगरानी बढाएको छ ।
लकडाउनको उल्लंघन गरी सञ्चालनमा आएका सवारीलाई प्रहरीले नियन्त्रणमा लिन सुरु गरेको हो । यसै विच ईलाका प्रहरी कार्यालय रामपुरले तीन दिनको अवधीमा ६० वटा भन्दा बढी मोटरसाईकल तथा स्कुटर नियन्त्रणमा लिएको छ । सरकारको निर्देशन अवज्ञा गर्दै चलाएका सवारीसाधनलाई नियन्त्रणमा लिएको हो । रामपुर नगरपालिकाको बेझाँड बजार, किसानबारी लगाएत विभिन्न स्थान बाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भिम बहादुर कार्कीले बताउनुभयो । उहाँले एम्बुलेन्स बाहेक अन्य सवारी सञ्चालनमा पूर्ण रुपमा रोक लगाईएको जानकारी दिनुभयो ।
यता छिमेकी जिल्लाहरुमा कोभिड १९ को बढ्दो संक्रमणलाई ध्यानमा राखी शनिबार देखि पाल्पालाई पूर्ण रुपमा शिल गरिएको छ । औषधि, एम्बुलेन्स, शव वाहन, दमकल तथा राजमार्गमा गुड्ने सवारी साधनहरु (जिल्ला भित्र ओर्लिन र चढ्न नपाउने गरी) बाहेकका सबै प्रकारका सवारी साधनहरुको जिल्ला भित्र प्रवेश गर्न र बाहिर जान जेठ ५ गते राती १२ बजे सम्म पूर्ण रुपमा रोक लगाईएको छ ।