मंगलबार राती १२ बजे देखि १२ गते सम्म रामपुर नगरपालिकामा लकडाउन हुने

पाल्पा, रामपुर नगरपालिका कार्यपालिकाको बैठकले भदौ २ गते मंगलबार राती १२ बजे देखि १० दिन लकडाउन गर्ने निर्णय गरेको छ । यातायात तथा बजार खुल्ला भए संगै गाउँ तथा बजारमा भिडभाड बढ्ने, अन्य स्थान बाट आवतजावत गर्ने, भारत तथा तेस्रो देश बाट फर्किनेको संख्या वृद्धि हुँदा कोरोना संक्रमण समुदाय स्तरमा पुग्न सक्ने खतरा भएको भन्दै भदौं १२ गते राती १२ बजे सम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

सोमबार बसेको १ सय २ औं कार्यपालिकाको बैठकको निर्णय सार्वजनिक गर्दै रामपुर नगरपालिकाका प्रवक्ता हुमनाथ न्यौपानेले अत्ति आवश्यक सेवा बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको जानकारी गराउनुभयो । उहाँले औषधी पसलहरु निर्वाध रुपमा खुल्ला रहने जानकारी दिदै तरकारी, दुधका पसलहरु विहान ५ बजे देखि ९ बजे सम्म र साँझ ५ बजे देखि ७ बजे सम्म खुल्ला रहने बताउनुभयो । बैंक तथा वित्तिय संस्थाहरु पनि विहान ११ देखि दिउँसो १ बजे सम्म खुल्ला रहने छ । अन्य पसलहरु भने बन्द रहने छ ।

त्यस्तै अत्यावश्यक सवारी बाहेकका अन्य यातायातका साधनहरु पनि बन्द हुने भएको छ । नगर प्रमुख रमण बहादुर थापाले लकडाउनका बारेमा थप प्रकाश पार्दै अहिले अन्यत्र बाट आवत जावत गर्ने मानिसहरुले थप जोखिम बढाएकाले १० दिन लकडाउन गरिएको बताउनु भयो । उहाँले नगर प्रवेश गर्ने नाकाहरुमा थप कडाई गरिने बताउँदै एम्बुलेन्स बाहेकका सवारी सञ्चालनमा रोक लगाईने बताउनुभयो । उहाँले अनावश्यक मानिसहरुको भिडभाड, जमघट नगर्न आग्रह गर्दै लकडाउनमा सुरक्षाकर्मी, सञ्चारकर्मी, बैंक तथा वित्तिय संस्थाका कर्मचारी, सरकारी कार्यालयका कर्मचारी र जनप्रतिनिधीलाई मात्र हिडडुल गर्न दिईने बताउनुभयो ।

नगर भित्रका सरकारी कार्यालयहरुमा अत्यावश्यक सेवाहरु मात्र प्रवाह हुने बताउनु भयो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यले यसलाई लकडाउनको रुपमा नभई सर्टडाउनको रुपमा लिन आग्रह गर्दै सबैलाई सहयोग गर्न अनुरोध गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?