रामपुर साकोसको १३ औँ बार्षिक साधारण सभा सम्पन्न

पाल्पा, रामपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर पाल्पाको १३ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले कोरोना संक्रमणका कारण विगतमा धुमधामका साथ साधारण सभा सम्पन्न गर्दै आएको सहकारीले वार्षिक प्रतिवेदन माथि शेयर सदस्यहरु संग कार्यालय बाटै सुझाव संकलन गरी छलफल पश्चात समापन गरेको हो ।

संस्थाका ज्येष्ठ सदस्य मायादेवी भण्डारी द्वारा दिप प्रज्वलन गरी गत मंसिर १६ बाट सुरु भएको साधारण सभाको सुझाव माथि छलफल गर्दै आज संस्थाका अध्यक्ष राजु प्रसाद श्रेष्ठले दियोमा तेल थपेर समापन गर्नु भएको हो । संस्थाका संचालक समितिका अध्यक्ष श्रेष्ठले बार्षिक प्रगति प्रतिवेदन सहित भावि योजना प्रस्तुत गर्दै संस्थालाई बदलिदो समय संगै प्रविधिमैत्री बनाउदै लगिएको बताउनुभयो । उहाँले आगामी दिनमा अन्य वित्तिय संस्था संग सहकार्य गरेर अन्तर सहकारी कारोवारलाई अगाडी बढाउन खोजेको बताउनुभयो । साथै हाल विश्व महामारीको रुपमा रहेको कोरोना संक्रमणका कारण प्रभावित शेयर सदस्यहरुको आर्थिक पक्षलाई मजबुद बनाउनका लागी सहकारीले विभिन्न कार्यक्रमहरु ल्याउने बताउनुभयो ।

कार्यक्रममा संस्थाका सचिव लेखनाथ मरासिनिले संस्थाले हासिल गरेका उपलब्धीहरु र गरेका कामहरुको बारेमा जानकारी गराउदै संस्थागत विकासका लागी नितिगत व्यवस्था सहित पारदर्शी ढंगले अघि बढाउने बताउनुभयो । यस्तै संस्थाका कोषाध्यक्ष भोजराज भट्टराईले कोरोना संक्रमणको समयमा पनि नियमित रुपमा सेवा प्रदान संगै ऋणिहरुलाई व्याज छुट गरेको बताउनुभयो । उहाँले गत बर्षको आर्थिक प्रतिवेदन संगै चालु आर्थिक बर्षको प्रस्तावित कार्यक्रमहरु प्रस्तुत गर्नु भएको थियो । साधारण सभा समापनका अवसरमा संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक ज्ञानेन्द्र प्रसाद गैरेले सहकारीको माध्यमबाट ग्रामिण क्षेत्रको गरिवि निवारणमा सहकारीले खेलेको भुमिका महत्वपूर्ण रहेको बताउदै सुझाव तथा सल्लहा दिनु भएको थियो । कार्यक्रममा संस्थाका व्यवस्थापक रामचन्द्र अधिकारीले चालु आर्थिक बर्षका लागी प्रस्तावित ४२ बुँदे बार्षिक निति तथा कार्यक्रमहरु प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा शेयर सदस्यहरुको तर्फ बाट शम्भुराज अर्याल र दुर्गा देवी रानाले आफ्नो भनाई राख्नु भएको थियो । पाल्पाको रामपुर नगरपालिकाका १० वटै वडा, निस्दी गाउँपालिकाका ५ वटा वडा र पूर्वखोला गाउँपालिकाका १ वटा वडालाई सेवा क्षेत्र बनाई सेवा दिदै आएको सहकारी छिमेकी जिल्ला स्याङ्जाको चापाकोट, तनहुँको घिरिङ्ग सहित पाल्पाको निस्दी र पूर्वखोलामा पनि विस्तार गर्ने रणनिती लिएको छ । संस्थाका हाल ४ हजार १ सय ७८ जना शेयर सदस्यहरु रहेका छन् । संस्थाले यस आर्थिक वर्षमा १ करोड २ लाख ३३ हजार ७ सय ५९ रुपैयाँ खुद नाफा गर्न सफल भएको छ । संस्थाका अध्यक्ष राजु प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष नगिलाल पौडेलको स्वागत र सचिव लेखनाथ शर्मा मरासिनीको सञ्चालनमा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?