पाल्पा -अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर पाल्पाको २३ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले गत मंसिर १५ गते देखि सेवाकेन्द्र स्तरिय विधिबाट विभिन्न स्थानमा साधारण सभा गरि शनिबार निर्णय प्रमाणित सहितको २३ औँ बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
साधारण सभाको समापन समारोहलाई सम्बोधन गर्दै नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका अध्यक्ष परितोष पौड्यालले सहकारी संस्था शेयर सदस्यको सेवा संग समर्पित हुने वित्तिय संस्था भएको भन्दै समुदाय र जनताको आर्थिक समृद्धिको हितमा काम गर्ने संस्था भएको बताउनुभयो । अन्य बैंकले आर्थिक कारोबार एवं लगानी गरेर सेवाग्राहीलाई दोहन गर्ने गरेको आरोप लगाउदै अन्य बैंक संग सहकारीलाई तुलना गर्न नमिल्ने बताउनुभयो ।
“शेयर सदस्यको आर्थिक सम्बृद्धि संगै जिवन बदल्ने महत्वपूर्ण काम सहकारीले गर्छ, उहाँले भन्नुभयो जस्तो सुकै विषम परिस्थितिमा पनि सहकारी संस्था शेयर सदस्यको सेवामा समर्पित हुन्छ । ” अध्यक्ष पौडेलले गाँउगाँउमा रहेका विभिन्न सहकारी संस्थाको विकासका लागी नेफ्स्कुन लागी परेको भन्दै रामपुर क्षेत्रमा रहेका सहकारीहरु एकिकरण गरि शेयर सदस्य सन्तुष्ट हुने काम गर्न आग्रह गर्नुभयो ।
यस्तै नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका उपाध्यक्ष शान्ति अधिकारीले पछिल्लो केही बर्ष यता सहकारी संस्था धान्नै नसक्ने गरी स्थापना भएको भन्दै सहकारीको एकिकरण गरि एक व्यक्ति एक सहकारी निति कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले एउटै कार्य क्षेत्र र उद्देश्य रहेका सहकारीहरु मर्ज हुन आवश्यक रहेको औल्याउनुभयो । उहाँले भन्नुभयो “एकिकरणका लागी शेयर सदस्य भन्दा पनि कर्मचारी र संचालक समिति बाधक बन्ने गर्दछ पुँजीका कारण एकिकरण हुँदैन भन्ने तर्फ जान हुँदैन । ”अहिले सहकारी धेरै तर सदस्य संख्या थोरै रहेको भन्दै उहाँले सहकारीहरु मर्ज भई शेयर सदस्यको हितमा परिणाममुखि काम गर्न आवश्यक रहेको बतउनुभयो ।
कार्यक्रममा रामपुर नगरपालिकाका निमित्त कार्यालय प्रमुख रामहरि पाण्डेले नगरपालिकाले सहकारी संग सहकार्य गर्दै कृषि क्षेत्रमा विभिन्न काम गर्दै आएको बताउदै सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको बताउनु भएको छ । होटल नमस्ते पाल्पाको सभाहलमा भएको कार्यक्रममा अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाका निवर्तमान अध्यक्ष तिर्थ प्रसाद पंगेनी , रामपुर नगरपालिकाका वडा अध्यक्षहरुको तर्फबाट वडा नं. ५ का वडा अध्यक्ष हिमाल मल्ल , सल्लहाकारहरुको तर्फबाट मोहन भट्टराई , रामपुर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजु प्रसाद श्रेष्ठ , जिल्ला सहकारी संघ पाल्पाका प्रतिनिधि कृष्ण कुमार अर्याल , शेयर सदस्यहरुको तर्फबाट रेनुका ठाडा र कृष्ण प्रसाद पौडेलले सहकारीको सेवा जिल्ला भर विस्तार गर्न आवश्यक रहेको भन्दै सफलताको शुभकामना दिनु भएको थियो ।
कार्यक्रममा अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर पाल्पाका अध्यक्ष सागर प्रसाद देवकोटाले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीलाई अझ मजबुत र सेवा प्रभावकारी बनाउन सवैको साथ र सहयोग आवश्यक पर्ने बताउनुभयो । उहाँले समय अनुसार सहकारी संस्थालाई प्रविधिमैत्री बनाउदै सेवालाई प्रभावकारी बनाईएका भन्दै शेयर सदस्यहरुको आर्थिक सम्बृद्धिका लागी संस्था सदैव समर्पित रहने बताउनुभयो ।
कार्यक्रममा यो बर्ष ७० बर्ष पुगेका शेयर सदस्यहरुलाई पेन्सन भत्ता सहित सम्मान गरिएको थियो । सहकारीले ७० बर्ष उमेर पुगेका आफ्ना शेयर सदस्यहरुलाई मासिक ५ सय रुपैयाँका दुरले भत्ता दिदै आएको छ । यस्तै कार्यक्रममा सहकारी संस्थाका निवर्तमान कार्य समितिका पदाधिकारीहरुलाई सम्मान समेत गरेको थियो ।
अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्षतामा भएको निर्णय प्रमाणि सहितको साधारण सभा नेफ्स्कुनका अध्यक्ष परितोष पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । उपाध्यक्ष खगेन्द्र प्रसाद न्यौपानेको स्वगतबाट शुरु भएको कार्यक्रमको संचालन सचिव ओम प्रकाश बस्यालले गर्नु भएको थियो । रामपुर ७ डुम्रिगाँउ पाल्पामा प्रधान कार्यालय रहेको सहकारीले पाल्पाका विभिन्न स्थानका ५ वटा सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ भने ९ हजार ५ सय ६५ जना शेयर सदस्य रहेको छ ।