उज्यालो बचत तथा ऋण सहकारी संस्था लि. रामपुरको अधिवेशन सम्पन्न- अध्यक्षमा पुन लम्साल

पाल्पा , उज्यालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर ६ विजयपुर पाल्पाको ९ औँ बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । सहकारीले शनिबार नयाँ समिति गठन गर्दै संस्थाको साधारण सभा तथा अधिवेशन सम्पन्न गरेको हो ।

सहकारी संस्थाका अध्यक्ष बालकृष्ण लम्सालको अध्यक्षतामा भएको साधारण सभा तथा अधिवेशन रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख थापाले हरेक शेयर सदस्यलाई उद्यमी बनाउन सहकारीले सहज र सरल तरिकाबाट लगानी गर्नु पर्ने बताउनुभयो । साथै प्रवाह भएको लगानीको सदुपयोग भयो कि भएन भनेर सहकारीले अनुगमन गर्न आवश्यक रहेको बताउनु भएको छ । उहाँले हरेक शेयर सदस्यले सहकारीबाट लिएको ऋण अनावश्यक खर्च नगरेर जिवन उपयोगी हुने गरि लगानी गर्न आग्रह गर्नुभयो ।

दरैठाँटी माध्यमिक विद्यालयको सभाहलमा भएको कार्यक्रममा सहकारी संस्थाको सल्लहाकारहरुको तर्फबाट हुमनाथ न्यौपाने , विष्णु प्रसाद रेग्मी , शेयर सदस्यहरुको तर्फबाट हरि प्रसाद गैरे र शारदा आचार्यले बोल्दै संस्थाको प्रगतिको कामना सहित नवगठित कार्य समितिलाई सफल कार्यकालको शुभकामना दिनु भएको थियो । साधारण सभामा संस्थाका अध्यक्ष बालकृष्ण लम्सालले करिब ५ करोड बराबरको आर्थिक बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

साधारण सभाका अवसरमा संस्थाले विभिन्न विधामा शेयर सदस्यहरुलाई सम्मान समेत गरेको थियो । सहकारी संस्थाका उपाध्यक्ष विष्णुमायाँ ढकालको स्वागतबाट शुरु भएको कार्यक्रमको संचालन सचिव ईश्वर अधिकारीले गर्नु भएको थियो । साथै संस्थाको तेस्रो अधिवेशनले पुन बालकृष्ण लम्साल कै अध्यक्षतामा ७ सदस्यिय कार्य समिति गठन गरेको छ । जसको उपाध्यक्षमा विष्णुमायाँ ढकाल , सचिवमा ईश्वर अधिकारी , कोषाध्यक्ष सुर्य प्रसाद लम्साल र सदस्यमा कृष्ण प्रसाद अर्याल , भेषराज पंगेनी र ईन्द्र कुमारी पौडेल रहनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?