पाल्पा, रामपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर पाल्पाको १५ औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । संस्थाले शनिबार कार्यक्रम गरी साधारण सभा सम्पन्न गरेको हो ।
साधारण सभाको उट्घाटन गर्दै संविधान सभा सदस्य राधाकृष्ण कंडेलले बचत र ऋण लगानीमा मात्र सिमित नभै उद्योग स्थापना, रोजगारी सृजना गर्नका लागि सहकारीको सक्रियता खाँचो रहेको बताउनुभयो । मुलुकको अर्थतन्त्रमा सहकारीको योगदान रहेको बताउँदै समृद्ध नेपाल र सुखी नेपालीको नारालाई साकार पार्न सहकारीहरुको महत्वपूर्ण भुमिका रहने उल्लेख गर्नुभयो । उहाँले शेयर सदस्यहरुलाई व्यवसायीक बनाउन, स्वारोजगार सृजना गर्नका लागि सहकारी स्थापना भएको बताउँदै उद्देश्यमा केन्द्रित भएर लाग्न अनुरोध गर्नुभयो ।
रामपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेल सहकारीले जनताको भावनालाई जोडेको बताउनु भयो । नगर भित्र वित्तिय सेवा प्रदान गर्नुका साथै आर्थिक चलायमान गराउन सहकारीको महत्वपूर्ण योगदान रहेको स्पष्ट पार्नुभयो । नेकपा एमाले रामपुर नगर कमिटी अध्यक्ष विष्णु प्रसाद रेग्मीले सहकारीको विकासको लागि सबै शेयर सदस्यहरुले अपनत्व ग्रहण गरेर अघि बढ्नु पर्नेमा जोड दिनुभयो । नेकपा एकिकृत समाजवादी रामपुर नगर कमिटी अध्यक्ष फणेश्वर गौतमले देशको अर्थतन्त्र कमजोर भएको अवस्थामा सहकारीहरु जनताको पक्षमा उभिएर काम गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले रामपुरको वित्तिय क्षेत्रको विकासको लागि सहकारीले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । आधारभूत माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलराज भट्टराईले रामपुर बचत तथा ऋण सहकारी संस्थाले किसान तथा व्यवसायीहरुको उत्थान संगै समाज रुपान्तरणका लागि ठूलो योगदान दिन सफल भएको बताउनुभयो ।
ग्लोबल आईएमई बैंक रामपुर शाखाका प्रबन्धक बाबुराम लम्सालले शेयर सदस्यहरुको जीवन स्तर सुधार संगै वित्तिय साक्षरताको लागि सहकारी ठूलो योगदान दिएको बताउनुभयो । कार्यक्रममा अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागर प्रसाद दवकोटाले सहकारीको माध्यम बाट सहकार्य गर्दै अघि बढ्न अन्धकारमुक्ति एकिकरणको लागि सदा तयार रहेको बताउँनुभयो । नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष सिर्जना घिमिरेले राजनैतिक भागबन्दा बाट नभै संस्थालाई चलायामन बनाएर अघि बढाउन सक्ने सक्षम नेतृत्व चयनको लागि शुभकामना दिनुभयो । कार्यक्रममा शेयर सदस्य शम्भु प्रसाद अर्याल, नारायणी सुवेदीले आफ्नो शुभकामना मन्तव्य राख्नु भएको थियो ।
सभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष राजु प्रसाद श्रेष्ठले विभिन्न स्थानमा सहकारीको विकृति देखिए पनि रामपुर साकोस मजबुत र व्यवस्थित रहेकाले ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो । सहकारीलाई राष्ट्रकै उत्कृष्ट सहकारी बनाउन नयाँ प्रविधि सहित समिति लागि परेको बताउनुभयो । रामपुर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम संस्थाका उपाध्यक्ष नगिलाल पौडेलको स्वागत बाट सुरु भएको थियो । कार्यक्रमको सञ्चालन सचिव लेखनाथ शर्मा मरासिनीले गर्नु भएको हो ।
यस्तै सहकारीले साधारण सभाको अवसरमा सहकारीले उत्कृष्ट शेयर सदस्यहरुलाई विभिन्न विद्यामा पुरस्कृत गरेको छ । ऋण सदुपयोग कर्ता पूर्ण बहादुर कुमाल, असल ऋणी निरोज श्रेष्ठ, कमला पाण्डे, बाल बचत कर्ता अर्पण श्रेष्ठ, ओमकला आले, नियमित बचत कर्ता फत्त बहादुर थापा, दमकली ठाडा राना, बचत कर्ता माधव प्रसाद घिमिरे, करमौतीसरा वि.क.लाई पुरस्कृत गरेको हो । साथै सहकारीले ७० वर्ष पुरा भएका ३४ जना जेष्ठ शेयर सदस्यहरुलाई सम्मान गरेको छ ।
सहकारीको साधारण सभाको अवसरमा सहकारीले दुर्घटनामा मृत्यु भएका शेयर सदस्य रामपुर ५ का सूर्य प्रसाद श्रेष्ठको परिवारलाई दुर्घटना विमा वापतको १ लाख दावी रकम भुक्तानी दिएको छ । शेयर सदस्यहरुको सामुहिक दुर्घटना विमा वापतको रकम सगमाथा इन्स्योरेन्स कम्पनी रामपुर शाखाका प्रमुख डोलराज श्रेष्ठले प्रमुख अतिथी कंडेल, सहकारीका अध्यक्ष श्रेष्ठ मार्फत छोरा हरि श्रेष्ठलाई प्रदान गर्नु भएको हो ।
२०६५ सालमा रामपुर बचत तथा ऋण सहकारी र चन्द्रज्योति बचत तथा ऋण सहकारी सस्था एकिकृत भई सञ्चालनमा रहेको सहकारीमा हाल ४ हजार १ सय ९२ शेयर सदस्य रहेका छन् । संस्थाले आर्थिक वर्ष २०७८/०७९ मा १ करोड ५१ लाख ७८ हजार बढी मुनाफा गर्न सफल भएको थियो । सहकारीको नयाँ समिति गठनको लागि प्रक्रिया सुरु भैसकेको छ ।