रामपुर नगरपालिकाको सार्वजनिक सुनुवाई तथा प्रगति समिक्षा कार्यक्रम सम्पन्न

पाल्पा, रामपुर नगरपालिकाको सार्वजनिक सुनुवाई तथा प्रगति समिक्षा कार्यक्रम आइतबार सम्पन्न भएको छ । रामपुर नगरपालिकाको आयोजना र सीताकुण्ड मिडिया प्रा.लि. रामपुर पाल्पाको सहजीकरणमा कार्यक्रम गरी सार्वजनिक सुनुवाई तथा प्रगति समिक्षा सम्पन्न गरेको हो ।

सार्वजनिक सुनुवाईमा सहभागीले उठाएका जिज्ञासा मेटाउँदै रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले सबैको साथ सहयोग र सुझावले नै नगर विकासमा टेवा मिल्ने बताउनुभयो । नगरको विकासका जनताको सुझाव अपरिहार्य रहेको भन्दै थापाले नगरपालिकाले आएका गुनासाहरुलाई सम्बोधन गर्दै अघि बढेको बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानेले सार्वजनिक सुनुवाई नगरपालिकाको ऐना भएको बताउनुभयो । उहाँले रामपुर नगरपालिकाको चालु आर्थिक वर्षको योजना, तथा कार्य सम्पादनमा भएको प्रगति, सेवा प्रवाहको अवस्थाको बारेमा अवगत गराउँदै सहभागीका गुनासोहरुको सम्बोधन गर्नु भएको थियो ।

कार्यक्रममा रामपुर नगरपालिकाका सल्लाहाकार देवराज ढकाल, नेपाली कांग्रेस रामपुर नगर समितिका सचिव चिरन्जीवि सिग्देल, नेकपा एमाले रामपुर नगर कमिटी अध्यक्ष विष्णु प्रसाद रेग्मी, राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक अर्जुन प्रसाद श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र प्रार्टीका राजेन्द्र प्रसाद ढकाल, एकिकृत समाजवादी पार्टी रामपुर नगर कमिटी अध्यक्ष फणेशवर गौतम, सहभागीहरु गोविन्द प्रसाद भट्टराई, नन्दकुमारी सिग्देल, सीता सिग्देल, भविनारायण मरासिनी, शंकर प्रसाद अर्याल, डाक्टर शंकर श्रेष्ठ, डाक्टर लविन परियार, नरेन्द्र कुमार जर्घा लगाएतले जिज्ञासा राखेका थिए ।

सहभागीले योजना सम्झौता, लागत सहभागीता, घर नक्सा पास, गिट्टी बालुवाको टेण्डर तथा उत्खनन्, फोहोर मैला व्यवस्थापन, शित भण्डार, पशु शाखाको सेवा, नगर भित्रका मेडिकलहरुको अनुगमन प्रभावकारी हुन नसकेको, सार्वजनिक जग्गा संरक्षण, घरहरुको अभिलेखिकरण, शिक्षा क्षेत्रको अवस्था, सार्वजनिक सेवा लगाएतका विषयमा जिज्ञासा राखेका थिए । सहभागीहरुको जिज्ञासा रामपुर नगरपालिकाका कृषि शाखा अधिकृत रामहरी पाण्डेय, रामपुर नगरपालिकाका इन्जिनियर रञ्जन न्यौपाने, स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरे, शिक्षा शाखा प्रमुख विकल काफ्ले, पशुशाखा प्रमुख तुलसीराम काफ्ले, रामपुर अस्पतालका निमित्त सुपरिटेण्डेन्ट डाक्टर विजय परियार लगाएतले सम्बोधन गरेका थिए । साविक कृषि शाखाको प्राङ्गणमा भएको कार्यक्रम नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम उप–प्रमुख बालकुमारी थापाको स्वागतबाट सुरु भएको थियो ।

कार्यक्रमको सहजिकरणसीताकुण्ड मिडिया प्रालिका अध्यक्ष एवं कटुवाल खबर डटकमका सम्पादक दुर्गेश मल्ल र इमान सिं रानाले गर्नु भएको थियो । कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, राजनैतिक दल, कर्मचारी, रामपुर क्षेत्रका सरकारी कार्यालय प्रमुख, पत्रकार तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?