रामपुरमा जारी जिल्ला स्तरीय पुरुष भलिबलमा स्याङ्जा सेमिफाईनलमा प्रवेश

पाल्पा, रामपुरमा जारी जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगितामा स्याङ्जा सेमिफाईनलमा प्रवेश गरेको छ । लिग चरणको दोस्रो खेलमा कपिलवस्तुलाई ३/० को सोझो सेटमा पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो ।

कपिलवस्तु संगको खेलमा स्याङ्जाले पहिलो, दोस्रो र तेस्रो सेट २५/७, २५/१९ र २५/२१ अंक सहित हात पारेको थियो । यस संगै स्याङ्जा समुह वि बाट ६ अंक सहित विजेता बन्दै सेमिफाईनलमा प्रवेश गरेको हो । स्याङ्जाले समुह वि तर्फको पहिलो नवलपुरलाई विहिबार ३/१ सेटमा पराजित गरेको थियो । स्याङ्जाले सेमिफाईनलमा समुह ए को उपविजेता संग प्रतिस्पर्धा गर्नेछ ।

समुह वि तर्फ नवलपुर र कपिलवस्तुको खेल बाँकी रहेको छ । कपिलवस्तु अंक विहिन रहेको छ भने नवलपुरले १ अंक प्राप्त गरेको छ । समुह ए तर्फको दोस्रो खेल बाग्लुङ्ग र तनहुँ विच केही समय पछि हुनेछ । समुह ए मा बाग्लुङ, पाल्पा, गुल्मी र तनहुँ रहेको छ । यस अघिको खेलमा गुल्मीलाई पाल्पाले ३/० को सोझो सेटमा पराजित गरेको थियो ।

माघ २७ देखि फागुन ८ सम्म सञ्चालन भैरहेको महोत्सवमा जिल्ला भलिबल संघ पाल्पाको आयोजना, नगर खेलकुद विकास समिति रामपुरको सहआयोजना, रामपुर भलिबल संघको व्यवस्थापन र रामपुर उद्योग वाणिज्य संघको मुख्य प्रयोजकमा प्रतियोगिता भएको हो । प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ५१ हजार १ सय ११ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगितामा दोस्रो हुनेले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र र तेस्रो हुनेले नगद ५१ हजार १ सय ११ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । विधागततर्फ उत्कृष्ट हुनेलाई जनही ५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?