पाल्पा, नेपाल कम्युनिष्ट पार्टी पाल्पाले रामपुरमा एमसीसी र जनसरोकार बिषयक विशेष अन्तरक्रिया कार्यक्रम गरेको छ । आइतबार नेपाल र अमेरिका विच भएको एमसीसी सम्झौता अनुसार विद्युत प्रसारण लाईन तथा सडक स्तरोन्नतिको योजना कार्यान्वयन प्रक्रिया अघि बढिरहेको सन्दर्भमा रामपुरमा सरोकावालाहरु संग अन्तरक्रिया गरेको हो ।
कार्यक्रम नेपाल कम्युनिष्ट पार्टीका पोलिट व्युरो सदस्य भेषराज सिले एमसीसी र जनसरोकारको विषयमा आफ्नो धारणा राख्दै एमसीसी सम्झौतामा अमेरिकी शर्तहरुको थुप्रोले यसलाई अनुदान भन्न मिल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “एमसीसीलाई अनुदान भनिएको छ । ऋणका नीति शर्तहरु हुन्छन् । तर दान, दातव्य, चन्दा, पुरस्कार, अनुदान सहयोग, उपहार, दक्षिणा पाएको कुरामा शर्तहुदैन । भन्ने अनुदान र सर्तहरुको थुप्रो किन लगाईयो । त्यस कारण विशुद्ध अनुदान भनेर विश्वास गर्ने कसरी हामीले ?” एसीसी सम्झौताले नेपालको संविधानको मूल मर्म माथि नै प्रहार गरेको बताउनुभयो । “संविधानमा समाजबाद तर्फ उन्मुख हुनु पर्ने, स्वतन्त्र परराष्ट्र नीति उल्लेख भए पनि एमसीसी सम्झौता उदारिकरण, निजिकरण र बहुलबाद व्यवस्था सञ्चालन गर्नु पर्छ भनिएको छ । यो नेपाली जनताले फैसाला गर्नु पर्ने होकी अमेरिकाले फैसला गर्नु पर्ने हो ? यसले हाम्रो सर्वभौम अधिकारलाई कुण्ठित गरेको छ ।” उहाँले भन्नुभयो ।
विगतमा असमान सन्धी र सम्झौता खारेज गर भनेर नारा लगाईए पनि खारेज हुनुको बदला राष्टघाती सम्झौता थोरिएको उल्लेख गर्नुभयो । उहाँले संविधान भन्दा माथि रहेर कानुन बनाएकाले भावि पिँढीले दुख नपाओस् भन्ने ध्येयका साथ सबैले सोच्नु पर्ने बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य देवराज ढकालले एमसीसीको विषयमा आआफ्नै किसिमले व्याख्या हुँदा बुझ्न गाह्रो रहेको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय प्रजतन्त्र पार्टीका पुर्व केन्द्रीय सदस्य एवं वर्तमान जिल्ला अध्यक्ष डुल बहादुर कुँवर, नेपाली कांग्रेस रामपुरका नगर उपसभापति क्याप्टेन देव बहादुर थापा मश्राङ्गी, नेकपा एकिकृत समाजवादी रामपुरका अध्यक्ष फणेश्वर गौतम, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल, नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य रामप्रसाद खत्री, राष्ट्रिय जनमोर्चा रामपुरका रामप्रसाद गैरे, राप्रपा रामपुरका राजेन्द्र ढकाल, बृहस्पति अर्याल लगाएतले आफ्ना धारणा राखेका थिए ।
नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी मिन बहादुर आलेले रामपुरमा एमसिएको कार्यालय भएकाले कार्यक्रम गरिएको र नेकपाले बैंकहरुको व्याज तथा लघुवित्तहरुको विषयमा पनि आवाज उठाउँदै आएको बताउनुभयो । बेझाँड नहर अफिसमा भएको कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी पाल्पाका सेक्रेटरी मिन बहादुर आलेको अध्यक्षतामा भएको कार्यक्रम जिल्ला सचिवालय सदस्य निशान सि को स्वागत र नेपाल कम्युनिष्ट पार्टी रामपुरका सचिव पुरन शर्मा गैरेलेको सञ्चालनमा भएको हो ।