पाल्पा, ग्लोबल आईएमई बैंक लिमिटेड रामपुर शाखाले पाल्पाको रामपुरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । शाखाले गंगा माध्यमिक विद्यालय रामपुर-८ एक्लेटारमा कार्यक्रम गरेको हो ।
युवा विद्यार्थीहरुलाई वित्तीय ज्ञान, सीप र व्यावहारिक रुपमा सक्षम बनाउँदै विवेकशील वित्तीय निर्णय लिन अभिप्रेरित गर्दै आर्थिक समृद्धिमा टेवा दिने उद्देश्यका साथ कार्यक्रम भएको हो । विद्यालयमा अध्धयनरत कक्षा ११ र १२ का विद्यार्थी र शिक्षकहरुको उपस्थिति रहेको कार्यक्रममा वित्तीय साक्षरता, नेपालमा वित्तीय प्रणालीको अवस्था, बैंक तथा वित्तीय संस्थाका मुख्य कार्य, वित्तीय अनुशासन र डिजिटल बैंकिङ प्रविधिको महत्व र चुनौतिका बारेमा रामपुर शाखाका रिलेशनसिप म्यानेजर कृष्ण प्रसाद भट्टराईले अभिमुखीकरण प्रदान गर्नु भएको थियो ।
नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार २० मार्च देखि २६ मार्च सम्म सञ्चालनमा रहेको ‘ग्लोबल मनी वीक’ को अवसरमा युवाहरुमा वित्तीय शिक्षाको महत्व बारेमा सचेतना जगाउन कार्यक्रम गरिएको ग्लोबल आईएमई बैंक रामपुर शाखाका प्रबन्धक बाबुराम लम्सालले बताउनुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक देवराज देवकोटाले कार्यक्रमले विद्यार्थीहरुलाई वित्तिय ज्ञान लिने अवसर प्रदान गरेको बताउँदै शाखालाई धन्यवाद दिनु भएको थियो ।
ग्लोबल आईएमई बैंक संगै रामपुर क्षेत्रमा रहेका बैंक तथा वित्तिय संस्थाले विभिन्न विद्यालयहरुमा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । सन् २०१२ बाट सुरु भएको ‘ग्लोबल मनी वीक’ अर्गनाईजेशन अफ इकोनोमिक कर्पोरेशन एण्ड डेभेलपमेण्टको संयोजनमा विश्वका अधिकांश मुलुकमा मनाईदै आएको छ । युवाहरुलाई वित्तीय शिक्षाको प्रवद्र्धन गर्दै वित्तीय साक्षरता अभिवृद्धि गरी वित्तीय समावेशीता प्रवद्र्धनका माध्यमले स्वरोजगार सिर्जना, उत्पादन, तथा आय वृद्धि र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने अपेक्षाका साथ वर्षमा एक पटक सप्ताह व्यापी कार्यक्रम हुँदै आएको छ ।