पाल्पा, रामपुर नगरपालिका वडा नं. १ पन्थेमा ३ दिने उद्घोषण तथा भाषण कला सम्बन्धी तालिम सम्पन्न भएको छ । नेपाल मगर संघ रामपुर नगरपालिका १ नं. वडा कार्य कार्यसमितिको आयोजना र रामपुर नगरपालिका १ नं. वडा कार्यालयको आर्थिक सहयोग बुधबार बाट सुरु भएको तालिम सम्पन्न भएको हो ।
मगर समुदायको नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यका साथ सुरु भएको तालिम समापन कार्यक्रममा शुक्रबार सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले हामीले आफ्ना अधिकार माग गर्न तथा समुदायको रुपान्तरणका लागि बोल्ने कलाले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो । मुलुकको परिवर्तनका लागि भएका आन्दोलनहरु बाट महत्वपूर्ण उपलब्धि प्राप्त भएको स्मरण गराउँदै उहाँले आफ्ना अधिकारको लागि आवाज उठाउन आग्रह गर्नुभयो । साथै तालिममा सिकेका कुराको व्यवहारमा लागु गर्दै अघि बढ्न अनुरोध गर्नुभयो ।
रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले मगर समुदाय विगतको तुलनामा धेरै अघि बढिसकेको बताउँदै आत्मविश्वासका साथ आफ्ना कुरा राख्दै अघि बढ्न आग्रह गर्नुभयो । उहाँले तालिमले केही ज्ञान प्रदान गरेको यसको अनसरण गर्दै अघि बढ्न अनुरोध गर्नुभयो । थापाले मगर तथा जनजाति समुदायको उत्थानको लागि आवश्यक कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।
रामपुर नगरपालिकाका प्रवक्ता एवं वडा नं. १ का वडा अध्यक्ष कपिल बहादुर खाँणले पाल्पा मगर समुदायको बाहुल्यता रहेको जिल्ला रहेको बताउँदै समुदायको क्षमता विकास संगै संस्कृतिको संरक्षणमा वडाले पहल गर्ने बताउनुभयो । उहाँले तालिम मार्फत सक्षम नेतृत्व विकास संगै समाजलाई मुलधारमा ल्याउनका लागि तालिमले महत्वपूर्ण सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिकाका कार्यपालिका सदस्य एवं वडा सदस्य देवका पोख्रेल, गाँडाकोट स्वस्थ्य चौकीका प्रमुख, मजिबुर रहमान शेख, प्रशिक्षक इमान सिं रानाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा सहभागीको तर्फ बाट ममता पुलामी, लोकमायाँ राना लगाएतले अनुभव मन्तव्य राख्नु भएको थियो । नेपाल मगर संघ रामपुर नगरपालिका १ नं. वडा कार्य कार्यसमितिका अध्यक्ष सविता रानाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सदस्य नरराम रानाले गर्नु भएको थियो । गाँडाकोट स्वास्थ्य चौकीको सभाहलमा भएको तालिम समापन कार्यक्रमको सञ्चालन नेपाल मगर संघ रामपुर नगरपालिका वडा नं. १ का सचिव मौसमी खाम्चाले गर्नुभएको हो । ३० जनाभन्दा बढी सहभागी रहेको तालिमको सहजिकरण रामपुर नगरपालिकाका प्रेस सल्लाहाकार एवं रेडियो पाल्पाका कार्यक्रम प्रमुख दानु हिस्की मगर र पत्रकार इमान सिं रानाले गरिहनु भएको हो ।