पाल्पा, न्यू युथ युनियन क्लव तानसेन पाल्पा ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । टाई ब्रेकरमा फर्साटिकर युथ क्लव रुपन्देहीलाई ७/६ गोलले पराजित गर्दै न्यू युथयुनियन क्लव फाईनलमा प्रवेश गरेको हो ।
यस संगै न्यू युथ युनियनले उपाधीका लागि फाईनल खेलमा आयोजक ज्योतिपुञ्ज रामपुर संग आइतबार प्रतिस्पर्धा गर्ने निश्चित भएको छ । निर्धारित समयको खेलमा १/१ गोलको बराबरीमा खेल सकिएपछि खेल टाई ब्रेकरमा गएको थियो । खेलको पहिलो हाफको २६ औं मिनेटमा फर्साटिकरका लागि विक्की चाम्लिङ्ग राईले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा न्यू युथ युनियनले फ्रि किक प्राप्त गरेको थियो । ३२ औं मिनेटमा फ्रि किकलाई सवि गुरुङ्गले गोलमा परिणत गरिदिएका थिए । निर्धारित समयमा खेल बराबरीमा सकिए पछि खेल पेनाल्टी सुट आउटमा गएको थियो ।
न्यू युथ युनियनको तर्फ बाट रन्जित थापाले हानेको पहिलो बल बक्स भन्दा बाहिर गएको थियो । पेनाल्टी सुट आउटमा फर्साटिकरका सन्दिप श्रेष्ठले हानेको तेस्रो बल र सन्दिप थारुले हानेको आठौं न्यू युथ युनियनका गोल रक्षक दिपेश परियारले रोक्न सफल भएका थिए । यस संगै न्यू युथ युनियन फाईनलमा प्रवेश गरेको हो । खेलमा म्यान अफ दि म्याच न्यू युथ युनियन तानसेनका सवि गुरुङ भएका छन् । उनलाई फुटबल खेल संयोजक अनिल शाही पुरस्कार प्रदान गर्नु भएको थियो ।
वडा दशैं, तिहार तथा ज्योतिपुञ्ज युथ क्लवको २७ औं वार्षिक उत्सवको अवसरमा आयोजित प्रतियोगिताको फाईनल खेल भने भोली असोज २८ गते आईतबार दिउँसो २ बजे हुने क्लवका अध्यक्ष सुदिप गौतमले जानकारी दिनुभयो । प्रतियोगिताको फाईनलमा आयोजक ज्योति पुञ्ज रामपुर सेतो र न्यू युथ युनियन क्लव तानसेनले प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेताले उपाधि संगै ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने छ । प्रतियोगितामा ६ जिल्लाका कुल १० टोलीहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको अवसरमा खेल सकिए पश्चात राष्ट्रिय कलाकारहरुको प्रस्तुति सहित मौलिक संस्कृतिक झाँकी प्रदर्शन हुँदै आएको छ ।
आज रामपुर ७ को मारुनी नाच प्रदर्शन गरिएको थियो । साथै क्लवले मौलिक खानाका परिकार सहितको स्टल पनि राखेको छ । जहाँ नेवारी खानाका परिकार, मगरी खानाको परिकारहरु विक्री वितरण भैरहेको सांस्कृतिक कार्यक्रम संयोजक अर्जुनजंथ श्रेष्ठले बताउनुभयो ।