पाल्पा, जिल्लाको रिब्दीकोट गाउँपालिका–२, लघुवामा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् । पाल्पा गुल्मी सडक खण्डको अन्तर्गत गुल्मीबाट पाल्पातर्फ आइरहेको रा १ ख २४०४ रिब्दीकोट–२ लघुवामा विहिबार बेलुकी दुर्घटना भएको थियो ।
मृत्यु हुनेमा पाल्पा रिव्दीकोट गाउँपालिका–३, का ३० वर्षीय विष्णु ढकाल रहनुभएको छ । यस्तै, दुर्घटनामा परी दाङ जिल्ला घोराही उपमहानगरपालिका–१२, का ३२ वर्षीय यमराज पुन र रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका–५, का ३५ वर्षीय हिमाल घर्ती गम्भीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घाइते दुबै जनाको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ । उकालोमा व्याक भई टिप्पर सडकदेखि १५० मिटर तल खसेको थियो । चालक दाङ जिल्ला घोराही उपमहानगरपालिका–१६, का २६ वर्षिय अजय चौधरी भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।