लक्ष्मीनारायण गुठी सञ्चालन संस्थाको प्रथम अधिवेशन सम्पन्न

पाल्पा, लक्ष्मीनारायण गुठी सञ्चालन संस्था रामपुर पाल्पाको प्रथम अधिवेशन सम्पन्न भएको छ । समुदायमा हस्तान्तरण पछि पहिलो पटक भएको संस्थाको अधिवेशनले सर्वसम्मत रुपमा बुद्धि प्रकाश रेग्मीको अध्यक्षतामा समिति गठन गरेको हो ।

।।समितिको उपाध्याक्षमा कृतिनाथ श्रेष्ठ, सचिवमा मिनराज रेग्मी, सहसचिवमा चन्द्रा न्यौपाने, अर्थसचिवमा सुन बहादुर थापा रहनु भएको छ । सदस्यहरुमा गुरु प्रसाद रेग्मी, नारायण प्रसाद रेग्मी, शिशिर रेग्मी, कविता मल्ल, मथुरा रेग्मी, वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेल रहनु भएको निर्वाचन मण्डलका संयोजक बालकृष्ण लम्सालले जानकारी दिनुभयो । रामघाट स्थित लक्ष्मीनारायण मन्दिरको सभाहलमा भएको अधिवेशन उट्घाटन कार्यक्रम लक्ष्मी नारायण गुठी सञ्चालन संस्थाका अध्यक्ष बुद्धि प्रकाश रेग्मीको अध्यक्षता र कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका उत्तर बाहिनी मालङ्गाधामका संस्थापक चैतन्य कष्ण जि महाराज ज्यूको प्रमुख आतिथ्यतामा भएको हो ।

अधिवेशनको उट्घाटन गर्दै प्रमुख अतिथी चैतन्य कृष्ण ज्यूले उत्तर बाहीनी कालीगण्डकी संगै रामघाट र रामपुरको बारेमा धार्मिक ग्रन्थहरुमा पनि उल्लेख रहेको जानकारी दिदै रामपुर आफैमा पुण्य भुमि रहेको बताउनुभयो । उहाँले धार्मिक प्रवचन समेत दिनु भएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व सांसद् युवराज खनाल, रामपुर ५ का पूर्व वडा अध्यक्ष हिमाल मल्ल, धर्मोदय दशावतार बालन सांस्कृतिक समुहका अध्यक्ष हरिप्रसाद खनालले शुभकामना मन्तव्य राख्नु भएको थियो । संस्थाका अध्यक्ष बुद्धि प्रकाश रेग्मीले रामघाट क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि २०७४ सालमा गुरुयोजना निर्माण गरी सोही अनुसार कार्य हुँदै आएको जानकारी गराउनुभयो ।

संस्थापक सदस्य बालकृष्ण रेग्मीको स्वागत बाट सुरु भएको कार्यक्रममा सहभागीहरुलाई रामपुर ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव मिनराज रेग्मीले गर्नु भएको हो । गुठी  वि.सं. १८८९ अघि रेग्मी परिवारका स्वर्गीय तुलसीराम रेग्मीले स्थापना गर्नु भएको थियो । २०४९ मा लक्ष्मीनारायण गुठी संचालन संस्थाको नाममा जिल्ला प्रशासन कार्यालय पाल्पामा दर्ता भएर संचालन हुँदै आएकोमा २०७५ देखि समुदायबाट संचालन हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?