रक्त संचार सेवा केन्द्र स्थापनार्थ रामपुरमा अन्तरक्रिया

पाल्पा, रक्त संचार सेवा केन्द्र स्थापनार्थ अन्तरक्रिया कार्यक्रम रामपुर पाल्पामा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी रामपुर उपशाखाको आयोजनामा जिल्लामा रक्त संचार सेवा केन्द्र स्थापनाका लागि सरोकारवालाहरु विच अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा सहभागीहरुले मानिसको जीवन रक्षाका लागि रगत महत्वपूर्ण रहेको भन्दै पाल्पामा यो तत्काल स्थापना गर्न आवश्यक रहेको बताएका छन् । विभिन्न दुर्घटनामा परी तत्काल रगतको आवश्यकता पर्ने र रगतको अभावमा विरामीहरुले धेरै सास्ती खेप्दै आएकाले रक्त संचार केन्द्रको आवश्यकता औँल्याएका छन् । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सांसद राजु प्रसाद श्रेष्ठले मानव जीवन रक्षाका लागि रगत महत्वपूर्ण हुने भन्दै यसको अभाव हुन नदिन जिल्लामा रक्त सञ्चार केन्द्र स्थापना गर्न आवश्यक रहेको बताउनुभयो । साथै उहाँले निस्वार्थ भावले सेवा प्रदान गर्ने रेडक्रसले यसको नेतृत्व गरेर सञ्चालन गर्न सके सबैको विश्वासनियता हुने बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले रगत जुनसुकै समयमा जो कोहीलाई पनि आपतकालीन अवस्थामा चाहिने भएकाले रक्त सञ्चार केन्द्र स्थापनाका लागि सबैले सहयोग गर्न आवश्यक रहेको औँल्याउनुभयो । साथै हरेक नागरिकले सहज रुपमा रगतको अभाव झेल्नु पर्ने बाध्यता हटाउनु नगरपालिकाले रक्त सञ्चार केन्द्र स्थापनाका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै रामपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट सुनिल कुमार दासले पछिल्लो समय अस्पतालमा धेरै अपरेशन हुँदै आएको जानकारी दिंदै आवश्यक रगतको अभाव झेल्नु परेको उल्लेख गर्नुभयो । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी पाल्पा शाखाका अध्यक्ष बाबुराम कार्कीले रेडक्रसले सिमित स्रोत साधनका विच पनि सेवा प्रदान गर्दै आई रहेको भन्दै रक्त संचार केन्द्र स्थापना गरि निरन्तर रुपमा निशुल्क सेवा प्रदान गर्ने उद्देश्य रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाका कार्यकारी अधिकृत विनोद भारतीले पाल्पामा रक्त संचार केन्द्र स्थापनाको आवश्यकता , मासिक खपत रगत लगाएत संचार केन्द्र स्थापनाका लागि आवश्यक बजेट र रणनीतिक योजना प्रस्तुत गर्नु भएको थियो । रामपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा जनप्रतिनिधि , राजनीतिक दल , विभिन्न संघ संस्था , क्लव , पत्रकार र सरोकारवालाहरुको सहभागिता रहेको थियो । नेपाल रेडक्रस सोसाइटी रामपुर उपशाखका अध्यक्ष मनोराथ भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम लुम्बिनी प्रदेश सांसद राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । रेडक्रस पाल्पाका उपमहामन्त्री कमलराज भट्टराईको स्वागतबाट शुरु भएको कार्यक्रमको संचालन रामपुर उपशाखाका सचिव तिल बहादुर श्रेष्ठले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Close

Close
Close