पुस २७ ।
पाल्पा, हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर–४, पाल्पाको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले शनिबार हातेमालो चोकमा कार्यक्रम गरी साधारण सभा सम्पन्न गरेको हो ।
संस्थाका अध्यक्ष विष्णु बहादुर सारुको अध्यक्षतामा भएको कार्यक्रम लुम्बिनी प्रदेश सभा सदस्य एवं अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो । साधारण सभाको उट्घाटन गर्दै प्रमुख अतिथी श्रेष्ठले नेपाललाई सन २०३० भित्र नोट रहित बनाउने सरकारले लक्ष्य लिएको बताउँदै अब सहकारीलाई प्रविधि मैत्री बनाउन तर्फ लाग्नु पर्ने बताउनुभयो । विगतमा चार वटा खातामा हिसाब राख्ने गरिएपनि अब प्रविधिको उच्चतम सदुपयोग गर्दै नयाँ पुस्तालाई लक्ष्यित गरेर आफ्नो सेवालाई थप सहज र सरल बनाउनु पर्नेमा जोड दिनुभयो ।
बैंकहरुको रकम एक ठाउँ बाट अर्कोमा सार्न मिलेजस्तै अब सहकारीहरु पनि सञ्जालमा जोडिनु आवश्यक रहेको बताउनुभयो । केही सहकारीहरुको गलत गतिविधिका कारण सरकारले नियम र कानुनमा थप कडाई गर्दै गर्दा विधि र विधान अनुसार सञ्चालनमा रहेका सहकारीहरुलाई मर्का पर्ने अवस्था आउन लागेको प्रति हामी सचेत हुनु पर्ने बताउनुभयो ।
रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले स्थानीय स्तरमा स्थापना भएका सहकारीले यहाँको नागरिकको लागि सहज भएको बताउनुभयो । सहकारीले अब उत्पादनमुखी कार्यमा लगानी बढाउनु आवश्यक रहेको बताउनुभयो । रामपुर नगरपालिका ४ का वडा अध्यक्ष राम बहादुर रानाले सहकारीले स–साना पूँजी संकलन गरी बचत गर्ने बानीको विकास गर्नुका साथै सहकारीको मुख्य आधार शेयर सदस्य रहेको भन्दै शेयर सदस्य मैत्री नीति अवलम्बन गर्दै अघि बढ्न सुझाव दिनुभयो ।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष एवं सल्लाहाकार कमलचन्द्र तिवारीले स्थानीय साना व्यवसायीहरुलाई प्रोत्सहान गर्ने नीति अनुरुप कार्य गर्दै अघि बढ्न सुझाव दिनुभयो । कार्यक्रममा रामपुर नगरपालिका ४ का वडा सदस्य मोहन सिं राना, रामपुर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गुरु प्रसाद रेग्मी, अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष खगेन्द्र प्रसाद न्यौपाने, सामुदायिक वन उपभोक्ता महासंग रामपुरका अध्यक्ष विन्दु श्रेष्ठ, कालीका माविका प्रधानाध्यापक मनिराज अधिकारीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
संस्थाका अध्यक्ष विष्णु बहादुर सारुले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै भावि रणनीतिको बारेमा जानकारी गराउनु भएको थियो । सहकारीमा हाल ९०१ जना शेयर सदस्य आवद्ध रहेको जानकारी गराउँदै शेयर पुँजी ७८ लाख ७२ हजार २ सय रहेको बताउनुभयो । गत वर्ष सहकारीले १५ लाख ८ हजार ५ सय ४२ रुपैयाँ ४७ पैसा नाफा गर्न सफल भएको जानकारी गराउनु भयो ।
उपाध्यक्ष मिनराज रेग्मीको स्वागत बाट सुरु भएको कार्यक्रममा सहभागीहरुलाई सदस्य दुर्गा देवि रानाले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन सचिव प्रेम बहादुर पोखरेलले गर्नु भएको हो । साधारण सभाको अवसरमा नियमित बचत कर्ता, असल ऋणी, उत्कृष्ट बालबचत कर्तालाई सम्मान गरिएको थियो ।