माघ १६
पाल्पा, नेपाली कांग्रेस पाल्पाले सहिद परिवारलाई सम्मान गरेको छ । १०० दिने विशेष अभियान अन्तर्गत सहिद दिवसको अवसरमा कांग्रेसले सहिद परिवारलाई सम्मान गरेको हो ।
कांग्रेसले २०४६ सालको जनआन्दोलनका सहिद सूर्य प्रसाद घिमिरे, १० वर्षे जनयुद्धमा तत्कालीन विद्रोही पक्ष बाट मारिनु भएका बगनासकाली ५ दर्लमडाँडा मन बहादुर गाहा र माथागढी ४ झडेवा रविकुमार थापाको परिवारलाई सम्मान गरेको हो । कांग्रेस पाल्पाले बुधबार विहान २०४६ सालको जनआन्दोलनका प्रथम सहिद सुर्य प्रसाद घिमिरेको शालिकमा माल्यार्पण पश्चात सम्मान कार्यक्रम गरेको थियो ।
रामपुर नगरपालिका–५, बेझाँड स्थित घिमिरेको शालिकमा माल्र्यापण गर्नु हुँदै नेपाली कांग्रेस मुगुका जिल्ला सभापति एवं वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले सहिदहरुको बलिदानी बाट नै वर्तमान शासन व्यवस्था सम्भव भएको बताउनुभयो । मुलुकको आर्थिक र सामाजिक परिवर्तनका लागि सबै दलहरु एकता बद्ध भएर समृद्धिको मार्गमा हिड्न सकेमा मात्र सहिदहरुको सपना साकार हुने बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठको अध्यक्षता र कांग्रेस रामपुर ५ का वडा सभापति दुर्गा प्रसाद पोखरेलको सञ्चालनमा भएको थियो । साथै जनआन्दोलनको क्रममा रामपुरमा सहादत हुनु भएका सूर्य प्रसाद घिमिरेको परिवारलाई स्याङ्जाको चापाकोट नगरपालिका–८, माडी पुगेर उहाँको धर्मपत्नी राधादेवी घिमिरेलाई सम्मान गरेको थियो ।
मन्त्री शाही सहित नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ, लुम्बिनी प्रदेश सदस्य सन्दिप राना, महासमिति सदस्य रमण बहादुर थापा, जिल्ला उपसभापति ज्ञान बहादुर गाहा, झपेन्द्र गहिरे, सचिव सन्तोष थापा मगर सहित जिल्ला कार्यसमिति, क्षेत्रिय कार्यसमिति, प्रदेश कार्यसमिति लगाएतको टोली उहाँको निवास पुग्नु भएको थियो । मन्त्री शाहीले सहिद परिवारको उचित व्यवस्था गर्नका लागि पहल गरिरहेको बताउनुभयो । सहिदहरुको सपना पुरा गर्दै मुलुकलाई समृद्धिको बाटोमा लैजानका लागि प्रतिवद्ध भएर लागेको बताउनुभयो । नेपाली कांग्रेस पाल्पाका सभापति श्रेष्ठले सहिदहरुको उच्च बलिदानले मुलुक वर्तमान अवस्था सम्म आएको बताउँदै सहिद परिवारको वर्तमान अवस्थाको बारेमा जानकारी लिन तथा सम्मानका लागि परिवार सम्म पुगेको बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका सदस्य बुद्धि प्रकाश गौतमले सहिद घिमिरेको जीवनी माथि प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा सहभागीहरुलाई जिल्ला कार्यसमितिका उपसभापति ज्ञान बहादुर गाहा र परिवारको तर्फ बाट छोरी विष्णुदेवी घिमिरे आचार्यले धन्यावाद दिनु भएको थियो । कार्यक्रमको सञ्चालन सहसचिव हमिद मियाँले गर्नु भएको हो ।