चौथो रामपुर महोत्सवमा विहिबार हजारौं दर्शकको सहभागीता

माघ १७ ।
पाल्पा, चौथो रामपुर महोत्सव तथा व्यापार मेलाको तेस्रो दिन हजारौंले मेलामा सहभागीता जनाएका छन् । गत मंगलबार देखि आगामी माघ २७ सम्म सञ्चालन भैरहेको मेलामा सुरु विहिबार नौ हजार भन्दा बढीले सहभागीता जनाएको रामपुर उद्योग वाणिज्य संघले जनाएको छ ।

रामपुर उद्योग वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षणमा कालीगण्डकी वेशी क्षेत्रकोे पहिचान, स्थानीय उत्पादनको बजारिकरण, कला संस्कृतिको संरक्षण, पर्यटन प्रवर्द्धन एवं उद्योग, व्यापार र पर्यटनको सम्भावनाको उजागर गर्ने उद्देश्यका भैरहेको मेलामा विहिबार  छ हजार भन्दा बढी टिकट विक्री भएको  टिकट छपाई, विक्री एवं व्यवस्थापन उपसमितिका संयोजक ज्ञानेन्द्र प्रसाद गैरेले जानकारी दिनुभयो । उहाँका अनुसार ४ लाख ३० हजार बराबरको टिकट विक्री भएको थियो । मेलाका स्टल सञ्चालक, साँस्कृतिक झाँकीमा सहभागी समूह, स्वंयम सेवक, संघका सदस्य लगाएतलाई नि:शुल्क प्रवेशको व्यवस्था गरिएकाले नौ हजार बढीले मेलाको अवलोकन गरेको आँकलन गरिएको रामपुर उद्योग वाणिज्य संघका महासचिव खिम बहादुर क्षेत्री पुरुषोत्तमले बताउनुभयो । विहिबार सार्वजनिक विदा समेत रहेकाले पनि मेलाको व्यापारिक स्टल, बालउद्यान, साँस्कृतिक कार्यक्रम स्थलमा उल्लेख्य सहभागीता रहेको थियो ।

“आर्थिक समृद्धिका लागि उद्योग र व्यापार कालीगण्डकी उपत्यका विकासको आधार” भन्ने नाराका साथ रामतुलसी माविको खेल मैदानमा भैरहेको मेलामा ४ सय भन्दा बढी व्यापारिक स्टल रहेको छ । स्टलमा स्थानीय कृषि उपज, घरेलु तथा कुटीर उद्योग, हस्तकला तथा महिला उद्यमीले उत्पादन गरेका सामग्री, मौलिक खानाका परिकारलाई प्राथमिकता दिईएको संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले बताउनुभयो । संघले स्थानीय तह, तथा विभिन्न संघ संस्थाको समन्वयमा स्थानीय उत्पादन सहितका स्थल उपलब्ध गराएको छ । साथै विभिन्न जातजातिहरु मगर, नेवार, दरै र चेपाङको मौलिक खानाको स्टल रहेको छ । मेलामा अटो मोबाईल, प्रतिष्ठित उद्योग बाट उत्पादित सामग्री तथा स्थानीय उत्पादन सहितको व्यापारिक स्टल, बालउद्यान, कृषि प्रदर्शनी, विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शनी, मौलिक खानाका परिकार विक्री वितरण, घरेलु तथा साना उद्योग एवं महिला उद्यमीबाट उत्पादित बस्तु प्रदर्शनी  तथा विक्री हेलिकप्टर, प्यारागलाईडिङ्ग बाट दृश्य अवलोकन, अण्डर वटर फिस टनेल, क्लव स्तरीय भलिबल प्रतियोगिता, दैनिक राष्ट्रिय कलाकारहरुको प्रस्तुति सहित लोक दोहोरी प्रतियोगिता, रामपुर डान्स आईडल, ऐतिहासिक धार्मिक, एवं पर्यटकिय स्थलको फोटो प्रदर्शनी आकर्षणको रुपमा रहेको छ ।

मेलामा विहिबार लोकदोहोरी प्रतियोगिता संगै विभिन्न कलाकारहरु प्रस्तुति रहेको थियो । लोक दोहोरी गायक राजु गुरुङ, कुशल बेल्वासे, गायिका सम्झना लामिछाने मगर, लोक दोहोरी गायक माधव भण्डारी, पप गायक एजेएजुको प्रस्तुति रहेको थियो । कलाकारहरु संगै महोत्सवका दर्शकहरु झुमेका थिए । आजको कार्यक्रम सञ्चालकमा विन्दु थापा निहारिका र लोकदोहोरी प्रतियोगिताको सञ्चालकमा नारायण खनाल लेकाली रहनु भएको थियो ।

मेलामा शुक्रबार चर्चित राष्ट्रिय लोक दोहोरी गायक खुमन अधिकारी, श्याम राना, हुम गैरे, लोकदोहोरी गायिका नविना सुवेदी, सृजना आले र दिलु फगामी मगरको प्रस्तुति रहने सांस्कृतिक संयोजक दिपक केसीले जानकारी दिनुभयो । कार्यक्रम प्रस्तोतामा जीवन दहाल रहनुहुनेछ । मेलामा कृषि प्रदर्शनीमा कृषकहरुले उत्साजनक सहभागीता जनाएको संयोजक सुर्य प्रसाद रेग्मीले बताउनुभयो । साथै रामपुर नगरपालिका शिक्षा शाखाको शैक्षिक सामग्री प्रदर्शनी पनि भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?