
पाल्पा, रामपुर नगरपालिका वडा नं.१० मगरे पाल्पामा मन्दिरको शिलान्यास गरिएको छ । नयाँ बन्ने भिमादेवि कोटघर मन्दिरको सोमबार एक कार्यक्रमका विच शिलान्यास गरिएको हो ।
रामपुर नगरपालिकाका कार्यबाहक नगर प्रमुख तथा उपप्रमुख बाल कुमारी थापाले शिलान्यास गर्नु भएको हो । कोटघरको शिलान्यास गर्दै रामपुर नगरपालिकाका कार्यवहाक नगर प्रमुख तथा उपप्रमुख बाल कुमारी थापाले धार्मिक महत्वका सम्पदाको संरक्षण तथा प्रवद्र्धनका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । धार्मिक सम्पदाको संरक्षणले धर्मको मात्र संरक्षण नभई यसले संस्कारयुत्त समाज निर्माण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । साथै धर्मले अनुशासन र नैतिकता सिकाउने भएकाले सुसंस्कृत समाज निर्माणका लागि धार्मिक महत्व बोकेका क्षेत्र र सम्पदाको संरक्षण गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । फरक प्रसंगमा उहाँले वडा नं.१०को मगरे गाउँ मगरबस्ती भएकोले यसलाई विभिन्न माध्यमबाट पर्यटकीय नमूना गाउँ बनाउनु पर्नेमा जोड दिनुभयो । परम्परागत विकृति विसंगति हटाई सुसंस्कृत गाउँको रुपमा विकास गर्न आवश्यक रहेको औँल्याउनुभयो । साथै सडक पहुँचको हिसाबले केही कष्टकर रहेकोले यो गाउँलाई सरल र सहज रुपमा सडक पहुँच सम्म जोड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । थापाले मगरे गाउँको आवश्यकतालाई परिपूर्ति गर्न नगरपालिकाको स्रोत र साधनले भ्याए सम्म विकासका लागि कुनै कसर बाँकी नराख्ने बताउनु भएको छ ।

यस्तै रामपुर नगरपालिका वडा नं.१० का वडा अध्यक्ष तोयानाथ सारु थापाले स्थानीय स्तरमा रहेका हरेक धार्मिक सम्पदा र संस्कृतिको संरक्षण गर्नु जनप्रतिनिधको जिम्मेवारी रहेको भन्दै वडाका धार्मिक महत्व बोकेका क्षेत्रको विकासका लागि प्रतिबद्ध भएर लागेको बताउनुभयो । उहाँले निर्माण पश्चात कोटघरको संरक्षण र निरन्तरताका लागि स्थानीयले सक्रियताका साथ भूमिका निर्वाह गर्नु पर्ने बताउनुभयो । वडा अध्यक्ष सारुले मगरे गाउँलाई पर्यटकीय क्षेत्र होम स्टेको रुपमा पनि विकास गर्न आवश्यक रहेको बताउनु भएको छ । साथै स्थानिय युवालाई उत्पादन संग जोडिएर आर्थिक समृद्धि हासिल गर्न आग्रह समेत गर्नु भएको छ ।
भिमादेवि कोटघर मन्दिर निर्माण समितिका अध्यक्ष विष्णु बहादुर कुँवरले गाउँमा रहेको धार्मिक सम्पदाको संरक्षण संगै स्थानीयको आवश्यकतालाई परिपूर्ति गर्न माग गर्नुभयो । यस्तै विनोद कुँवरले गाउँ सम्म पुग्नका लागि सहज सडकको विस्तार तत्काल गर्नु पर्ने,खानेपानी, विद्यालयको संरचना पुननिर्माण गर्नु पर्ने ,एकिकृत बंगुर खोर निर्माण गर्नु पर्ने लगाएतका माग राख्नु भएको थियो ।
कोट घर मन्दिर निर्माण समितका अधयक्ष विष्णु बहादुर कुँवरको अध्यक्षतमा भएको शिलान्यास कार्यक्रम रामपुर नगरपालिकाका कार्यबहाक नगर प्रमुख तथा उपप्रमुख बाल कुमारी थापाको प्रमुख आतिथ्यतमा सम्पन्न भएको हो । विनोद कुँवरको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन चित्र कुँवरले गर्नु भएको थियो । भिमादेवि कोट घर रामपुर नगरपालिका वडा नं.१० को २ लाख ५० हजार रुपैयाँ , चन्दादाताको सहयोग र जनश्रमदानमा निर्माण सम्पन्न गरिने भएको छ ।