छोरीको जन्मदिनमा आश्रमका वृद्धलाई कुर्सी तथा फलफूल वितरण


माघ २३ ।
पाल्पा, रामपुर नगरपालिका-६,का निवर्तमान वडा अध्यक्ष हुमनाथ न्यौपानेले छोरीको जन्मदिनको अवसरमा वृद्धहरुलाई कुर्सी तथा फलफूल प्रदान गर्नु भएको छ । अवसरमा राधादामोदर आरोग्य वृद्धाश्राम चापाकोट नगरपालिका-६ केलादी धाममा बस्दै आउनु भएका वृद्धहरुलाई कान्छी छोरी गंगा न्यौपाने खनालको जन्मदिनको अवसरमा कुर्सी सहित फलफूल वितरण गर्नु भएको हो ।

आश्रममा बस्दै आउनु भएका ३८ जना वृद्धहरुलाई बुधबार एक/एक वटा कुर्सी र फलफूल वितरण गरिएको न्यौपानेले जानकारी दिनुभयो । काठमाडौ टोखा घर भई हाल रोजगारी शिलशिलामा अष्ट्रेलियामा रहनु भएका कान्छी छोरीको जन्मदिनको अवसरमा बुवा हुमनाथ न्यौपाने, आमा पार्वती न्यौपाने, दाई सागर न्यौपाने र भाउजु स्मृति न्यौपाने वृद्धाश्रम पुग्नु भएको थियो ।

राधादामोदर मन्दिरका महन्त गोपाल शरण उपाध्याय ज्यू सहित वृद्धाश्रमका पदाधिकारीको सहभागीता रहेको थियो । निवर्तमान वडा अध्यक्ष एवं नगर गौशाला रामपुरका अध्यक्ष हुमनाथ न्यौपानेले अष्ट्रेलियामा रहनु भएका ज्वाई हरि खनाल र छोरी गंगा खनाल न्यौपानेको चाहाना अनुुसार जन्मदिनको अवसरमा सामग्री प्रदान गरिएको बताउनुभयो ।

वृद्धाश्रममा विभिन्न व्यक्ति तथा संस्था मार्फत अन्य सहयोग हुँदै आए पनि वृद्ध नागरिकहरुलाई बस्न सहज होस् भन्ने उद्देश्यले कुर्सी प्रदान गरिएको बताउनुभयो । राधादामोदर मन्दिर व्यवस्थापन समितिका सचिव घनश्याम खनालले सहयोगका लागि आभार व्यक्त गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?