माघ २४ ।
पाल्पा, चौथो रामपुर महोत्सव तथा व्यापार मेलाका दर्शकहरु नवौं दिन लोक तथा दोहोरी गायक प्रकाश दुतराज संगै रमाएका छन् । आफ्नै सृजनाहरु पस्किएर मेलामा आउनु भएका दर्शकहरुलाई उहाँले नचाउनु भएको हो।
जब अपरान्हमा दुतराज स्टेजमा चढ्नु भयो दर्शकहरुको हुटिङ्ग सुरु भएको थियो । जब उहाँले टोपी मैलै भो…… बोलको गीत सुरु गर्नु भयो महोत्सवमा सहभागी दर्शकहरुले संग संगै गीतमा गाएर र नाचेर साथ दिएका थिए । उहाँले त्यस पश्चात् क्रमश: बैनी झ्यालैमा, घर कता बैनीको,छु मायाँ, लाहुर जाने रेलैमा, रिमै, चोली मैले भो , रेशम, देउरालीमा पर्खी बसे लगाएतका एक दर्जन भाका सुनाउनु भएको थियो ।
उहाँ प्रस्तुतिको अन्तिममा दर्शकमाझ पुगेर गीत गाउँदै गर्दा दर्शकहरु थप उत्साहित बनेका थिए । एक घण्टा लामो आफ्नो प्रस्तुतिमा उहाँले झण्डै एक दर्जन गीत पस्किनु भएको थियो । बुधबार नै मेलामा लोकदोहोरी गायिका कोपिला न्यौपाने, आधुनिक गायक संजिव सिं राना, हास्यकलाकार कमल भट्टराई, विजय वम्डेल, नृत्यकार सरिता दान्कुटीको समेत बेजोड प्रस्तुति समेत रहेको थियो । साथै स्थानीय कलाकारहरुको प्रस्तुति रहेको थियो। विहिबार चर्चित राष्ट्रिय लोक तथा दोहोरी गायक खेम सेन्चुरी, गायिका तुलसी जीसी, लाली सिंजाली मगर र डान्सर वविता धितालको प्रस्तुति रहने साँस्कृतिक संयोजक दिपक केसीले जानकारी दिनुभयो । विहिबारको कार्यक्रम प्रस्तोतामा लोकदोहोरी गायक चोलेन्द्र पौडेल रहनुहुनेछ ।
रामपुर उद्योग वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षण गत माघ १५ देखि सुरु भएको मेलामा दैनिक सांस्कृतिक कार्यक्रम भैरहेको छ ।रामपुरमा जारी चौथो रामपुर महोत्सव तथा व्यापार मेलामा आठौं दिन पनि दर्शकहरुको उत्साहजनक सहभागीता जनाएका छन् । रामतुलसी माविको खेल मैदानमा जारी महोत्सवमा दर्शकहरुको उपस्थित बढ्दै गएको छ । मेलामा बुधबार पाँच हजार एक सय पचास भन्दा बढी दर्शकले टिकट खरिद गरी अवलोकन गरेकाे छन् । मेलामा नवौं दिन चार लाख १५ रुपियाँ टिकटक विक्री भएको टिकट छपाई, विक्री एवं व्यवस्थापन उपसमितिका संयोजक ज्ञानेन्द्र प्रसाद गैरेले जानकारी दिनुभयो । विशेष टिकट खरिद गरेका दर्शक, संघका सदस्य, पदाधिकारी, स्वंयसेवक, ८० वर्ष माथिका जेष्ठ नागरिक, स्टल धनी, झाँकीमा सहभागी विभिन्न समूह र पास लिनु भएका व्यक्तित्वहरुको गणना गरिएको छैन ।
कालीगण्डकी वेशी क्षेत्रकोे पहिचान, स्थानीय उत्पादनको बजारिकरण, कला संस्कृतिको संरक्षण, पर्यटन प्रवद्र्धन एवं उद्योग, व्यापार र पर्यटनको सम्भावनाको उजागर गर्ने उद्देश्यका साथ “आर्थिक समृद्धिका लागि उद्योग र व्यापार कालीगण्डकी उपत्यका विकासको आधार” भन्ने नाराका साथ सुरु भएको मेला स्थल दर्शकहरुले भरिभराउ रहेको थियो । मेलामा ४ सय भन्दा बढी व्यापारिक स्टलहरु रहेको छ । स्टलमा स्थानीय कृषि उपज, घरेलु तथा कुटीर उद्योग, हस्तकला तथा महिला उद्यमीले उत्पादन गरेका सामग्री, मौलिक खानाका परिकारलाई प्राथमिकता दिईएको संघले जनाएको छ । संघले स्थानीय तह, तथा विभिन्न संघ संस्थाको समन्वयमा स्थानीय उत्पादन सहितका स्थल उपलब्ध गराएको छ ।
साथै विभिन्न जातजातिहरु मगर, नेवार, दरै र चेपाङको मौलिक खानाको स्टल रहेको छ । मेलामा अटो मोबाईल, प्रतिष्ठित उद्योग बाट उत्पादित सामग्री तथा स्थानीय उत्पादन सहितको व्यापारिक स्टल, बालउद्यान, कृषि प्रदर्शनी, विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शनी, मौलिक खानाका परिकार विक्री वितरण, घरेलु तथा साना उद्योग एवं महिला उद्यमीबाट उत्पादित बस्तु प्रदर्शनी तथा विक्री हेलिकप्टर, प्यारागलाईडिङ्ग बाट दृश्य अवलोकन, अण्डर वटर फिस टनेल, क्लव स्तरीय भलिबल प्रतियोगिता, दैनिक राष्ट्रिय कलाकारहरुको प्रस्तुति सहित लोक दोहोरी प्रतियोगिता, रामपुर डान्स आईडल, ऐतिहासिक धार्मिक, एवं पर्यटकिय स्थलको फोटो प्रदर्शनी आकर्षणको रुपमा रहेको छ । मेला आगामी माघ २७ गते सम्पन्न हुनेछ ।