पाल्पा , सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड रामपुर पाल्पाको दशौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले कृषकहरुलाई व्यवसायिक पशुपालन गरी रामपुर नगरपालिकालाई दुधमा आत्मनिर्भर बनाउनु पर्ने बताउनु भएको छ । उहाँले दुधको आपूर्ति र दुग्धजन्य पदार्थको निर्यात गर्ने गरि उत्पादनमा बृद्धि गर्न आग्रह गर्नुभयो । साथै उहाँले हरेक कृषकलाई उत्पादनका आधारमा नगरपालिकाले अनुदान दिने बताउनुभयो । “अनुदानको लागि मात्र फर्म दर्ता गरेर कृषक बन्ने प्रवृत्ति पनि छ तर अब कृषकको उत्पादनका आधारमा मात्र नगरपालिकाले अनुदान दिन्छ ” उहाँले भन्नुभयो । साथै थापाले प्राप्त गरेको अनुदानको सहि सदुपयोग गर्न अग्रह गर्नुभयो । उहाँले व्यवसायीक रुपमा कृषि गर्न चहाने कृषकका लागी नगरपालिकाले व्याज अनुदान उपलब्ध गराउदै आएको बताउनुभयो । कृषकले उत्पादन गरेको दुध सहकारीले खरिदको जिम्मा लिन आवश्यक रहेको औल्याउनुभयो । दुध उत्पादन गर्ने कृषकका लागि नगरपालिकाले अनुदान दिने व्यवस्था भए पनि संस्थागत रुपमा कृषकको माग नहुँदा अनुदान वितरण नभएको बताउनुभयोे । यस्तै जिल्ला सहकारी संघ पाल्पाका जिल्ला अध्यक्ष भूपति पाण्डेले बोल्दै पशुपालक कृषकका लागि सहकारीले संचालन गरेका कार्यक्रम उत्कृष्ट रहेको बताउनुभयो । कृषकलाई व्यवसायीक बनाएको भन्दै सहकारी मार्फत लिएको ऋण सही ठाँउमा सदुपयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला सहकारी संघ पाल्पाका सदस्य ईश्वरी खनाल, अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर पाल्पाका अध्यक्ष सागर प्रसाद देवकोटा संस्थाका सल्लाहकार कमलराज भट्टराई, रामपुर नगरपालिकाका पशु शाखा प्रमुख तुल्सीराम काफ्ले, संस्थाका विमा उपसमिति सचिव मोहन भट्टराई लगाएतले बोल्दै संस्थाको प्रगतिको शुभकामना दिनुभयो । राम्चे सामुदायिक वनको सभाहलमा भएको साधारण सभाको अवसरमा उत्कृष्ट पशुपालक कृषक सिर्जना पौडेल, उत्कृष्ट कृषकलाई उत्प्रेरित गर्ने संस्था विकास समितिका लेखनाथ शर्मा मरासिनी, असल ऋणी डोलराज न्यौपाने, उत्कृष्ट नियमित बचतकर्ता राधिका भण्डारी र मोतीराज मरासिनीलाई सम्मान गरिएको छ । साधारण सभामा संस्थाका अध्यक्ष कृष्ण कुमार अर्यालले संस्थाको बार्षिक प्रतिवेदन र पशुधन सुरक्षण समितिका संयोजक नगिलाल पौडेलले पशुधन सुरक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सहकारीका अध्यक्ष कृष्ण कुमार अर्यालको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । उपाध्यक्ष दुर्गादेवि आचार्यको स्वागतबाट शुरु भएको कार्यक्रमको संचालन सचिव विनोद श्रेष्ठले गर्नु भएको थियो ।
तीन करोड आठ लाख २० हजार १ सय ६८ रुपैयाँ ५३ पैसा बराबरको सहकारीको कुल आय रहेको छ भने शेयर पुँजी १६ लाख ५७ हजार एक सय, बचत तर्फ ५५ लाख ९८ हजार १ सय ९० रुपैयाँ ६५ पैसा रहेको छ । यस आर्थिक वर्षको हाल सम्म ५० लाख तीन हजार २ सय ६५ लगानी भएको सहकारीले जनाएको छ । साधारण सभाको बन्द सत्रमा लेखा सुपरिवेक्षण समितिका संयोजक एकराज अर्यालले लेखा परिक्षणको प्रतिवेदन पेश गर्नुभएको थियो । पशुपालक कृषकलाई प्रोत्साहन गर्दै व्यावसायीक रुपमा पशुपालन गर्न विसं २०६९ असोज १८ गते स्थापना भई निरन्तर रुपमा अगाडी बढेको यस सहकारीमा हाल ४०९ सेयर सदस्य आबद्ध छन् ।