पाँचौ मेयर कप २०७९ रामपुर ७ किसानबारीमा शुरु

पाल्पा , पाँचौ मेयर कप २०७९ रामपुर नगरपालिकामा मंगलबार देखि शुरु भएको छ । रामपुर नगरपालिकाको आयोजना र नगर खेलकुद विकास समिति रामपुर पाल्पाको संचालनमा रामपुर ७ किसानबारीमा मेयर कप शुरु भएको हो ।

उत्कृष्ट , अनुशासित र सक्षम खेलाडीको पहिचान , राष्ट निर्माणमा मेयर कपको अभियान भन्ने नाराका साथ आयोजना गरिएको मेयर कपको विधिवत उद्घाटन गरिएको छ । मेयर कपको उद्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले स्वास्थ्य र राष्ट्रका लागि खेलको महत्व रहेको भन्दै अनुशासित भएर खेल खेल्न आग्रह गर्नुभयो । उहाँले मेयर कपले नगर भित्रका खेलाडीको पहिचान र खेलको विकासमा महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । खेलले शारिरिक , मानसिक र व्यत्तिगत व्यक्तित्वको विकास गर्ने भएकाले खेलाडि र खेलकुदको विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउनु भएको छ ।


मेयर कप अन्तर्गत उद्घाटनको पहिलो दिन मंगलबार फुटबल र भलिबल खेल भएको छ । रामपुर नगरपालिका वडा नं. ७ र वडा नं. ९ विच भएको फुटबल प्रतियोगितामा वडा नं. ७ विजयी भएको छ । यस्तै वडा नं. ३ र ७ विचको भलिबल खेलमा पहिलो सेट वडा नं. ७ ले जितेको छ । समय अभावका कारण बाँकी खेल भोली हुने नगर खेलकुद विकास समिति रामपुरका अध्यक्ष कमल सेनले जानकारी दिनुभयो । मेयर कप २०७९ अन्तर्गत ६ वटा विधामा खेल हुने छ । जसमा वडा स्तरिय पुरुष फुटबल , क्रिकेट , महिला तथा पुरुष भलिबल , व्याडमिन्टन प्रतियोगिता , वडा स्तरिय पुरुष तथा महिला डोरी तान्ने प्रतियोगिता र पुरुष सटफुट प्रतियोगिता हुने छ । मेयर कप अन्तर्गतको प्रतियोगिता यही फागुन १९ गते सम्म हुने छ ।

नगर खेलकुद विकास समिति रामपुरका अध्यक्ष कमल सेनको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको हो । नगर खेलकुद विकास समिति रामपुरका निवर्तमान अध्यक्ष शंकर बहादुर खाँणको स्वागतबाट शुरु भएको मेयर कप उद्घाटन कार्यक्रमको संचालन नगर खेलकुद विकास समितिका महासचिव राजु गुरुङले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?