बीउ विजन सम्बन्धी ४ दिने तालिम रामपुरमा सुरु

पाल्पा, बीउ विजन सम्बन्धी ४ दिने तालिम पाल्पाको रामपुरमा सुरु भएको छ । वीउविजन क्षेत्रका बहुसरोकारवालाहरु संगको समन्वय सहकार्य र साझेदारीमा आधारित व्यवसाय उन्मुख तालिम रामपुर नगरपालिका ६ नं. वडाको आयोजना तथा कृषि ज्ञान केन्द्र पाल्पाको सहयोगमा तालिम सुरु भएको हो ।

दरैठाटी माध्यमिक विद्यालयको सभाहल विजयपुरमा सुरु भएको तालिमको मंगलबार एक कार्यक्रमका विच उट्घाटन गरिएको हो । कार्यक्रममा अन्तर्राष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष तथा युवा समाजसेवी सन्दिप रानाले हाम्रो जीवन संग प्रत्यक्ष जोडिएको कृषिको महत्वलाई उजागर गरि आत्मनिर्भर बनाउन अग्रसर हुने पर्ने बताउनुभयो । उहाँले कृषिप्रधान देश नेपालमा आफ्नै देशको उत्पादन नपुग्ने अवस्था रहेको हुँदा समयानुकूल कृषिजन्य प्रविधीको प्रयोग गरेर बाँझिएका जमिन हराभरा बनाएर आफ्नै देशमा उत्पादन भएको वस्तु उपभोग गरी जिवनयापन गर्नुपर्ने बताउनुभयो । नेपालमा निर्यातभन्दा तीन गुणा बढि आयात गर्नु परिरहेको अवस्था रहेको बताउनुहुदै अब आयातलाई घटाउन उत्पादन बढाउनुपर्ने उल्लेख गर्नुभयो । गाउँघरमा रैथाने बाली लोप हुँदै गएको अवस्थामा अब यसलाई पुनः निरन्तरता दिनुपर्ने बताउनुभएको थियो ।

कार्यक्रममा बीउ विजन प्रयोगशाला भैरहवाका प्रमुख शालिकराम गौतमले तालिममा सिकेका सिपलाई व्यावहारमा प्रयोग गर्न सकियो भने कृषकले आर्थिक लाभ लिन सक्ने बताउनुभयो । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय रामपुरका सरस्वती दिदीले प्रवचनमार्फत स्वस्थ भोजनले मानिस स्वस्थ र फुर्तिलो हुने बताउनुभयो । रामपुर ६ का वडाध्यक्ष दिवाकर देवकोटाको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख रामहरि पाण्डेयको स्वागत र  दिपेन्द्र भट्टराईको सञ्चालनमा भएको हो । ४ दिन सम्म सञ्चालन हुने वीउविजन सम्बन्धि तालिम दरैठाटि मावि हल र मौरीपालन सम्बन्धि तालिम विजयपुर कृषि सहकारीको हलमा हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?