पाल्पा , रामपुर नगरपालिकाले आगलागी पिडितहरुलाई राहत प्रदान गरेको छ । नगरपालिकाले विभिन्न समयमा आगलागिबाट पिडित भएका घरपरिवारलाई बुधबार राहत वितरण गरेको हो । घरगोठ जलेका परिवारका लागि नगरपालिकाले एक/एक लाख रुपैयाँ बराबरको राहत प्रदान गरेको हो ।
गत बैशाख २४ गते भएको आगलागीबाट पिडित रामपुर नगरपालिका वडा नं. २ भलायटारका एक घरपरिवार र बैशाख २६ गते भएको आगोलागीबाट पिडित रामपुर नगरपालिका वडा नं. ९ मधुकोटका ५ घर परिवारलाई सामाग्री सहित नगद हस्तान्तरण गरेको हो । रामपुर नगरपालिका वडा नं. २ का टिकाराम थापा , वडा नं. ९ मधुकोटका नारायण कुमारी साठिघरे , लोक बहादुर साठिघरे , लक्ष्मी साठिघरे , जानुमाया साठीघरे र खेम बहादुर साठीघरेको परिवारलाई ६० हजार रुपैयाँ बराबरको ३५/३५ पाता जस्तापाता र नगद ४०/४० हजारका दरले राहत वितरण गरेको हो ।
पिडित परिवारलाई राहत हस्तान्तरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले केही विपद् मानविय त्रृटीका कारण निम्तिने भएकाले सचेत र सजग रहन आवश्यक रहेको बताउनुभयो । प्रकृतिक रुपमा आईपर्ने विपद्लाई रोक्न नसके पनि मानवीय त्रुटिका कारण हुने विपद रोक्न सजग हुनु पर्ने बताउनुभयो । विपद्मा परेका नगरबासीको दुखमा सहयोग गर्ने नगरपालिकाको जिम्मेवारी भएको भन्दै विपद्का घटनामा राहत समग्री हस्तान्तरण गर्नु पर्दा दुख लागेको बताउनुभयो । क्षति ठुलो भए पनि केही मलपटि लगाउछ र केही राहत होस भन्ने उद्देश्यले राहत वितरण गरिएको उहाँले बताउनुभयो । आगामी दिनमा क्षति भनेर कुनै नगरबासीको घरदैलोमा जानु पर्ने दिन नदोहोरियोस भन्दै विपदबाट सुरक्षित रहन आग्रह गर्नुभयो । साथै भवनको आचार संहिता अनुसार सुरक्षित घर निर्माण गर्न पनि आग्रह गर्नु भएको छ ।
आगलागि पिडित खेम बहादुर साठीघरेले दुखको समयमा नगरपालिकाबाट राहत वितरण गरेकोमा धेरै राहत महशुस भएको भन्दै नगरपालिकालाई धन्यवाद ज्ञापन गर्नुभयो । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा , उपप्रमुख बाल कुमारी थापा , प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने , वडा नं. २ का अध्यक्ष कृष्ण बहादुर दर्जी , वडा नं. ९ का अध्यक्ष डिल बहादुर राना , सामाजिक विकास समिति संयोजक सिमादेवि थापा , रामपुर नरपालिकाका ईन्जिनियर कृष्ण बहादुर थापा लगाएतको टोलीले पिडितको घरमै पुगेर राहत हस्तान्तरण गरेका थिए ।