३७२ बोरा अवैध रासायनिक मल प्रहरीको नियन्त्रणमा, अनुसन्धानका लागि भन्सार कार्यालय पठाउने तयारी

पाल्पा, कालीगण्डकी करिडोर अन्तर्गत रम्भा गाउँपालिका–१, हुँगी पाल्पा बाट प्रहरीले ३ सय ७२ बोरा अवैध रासायनिक मल नियन्त्रणमा लिएको छ । नवलपरासी बाट पाल्पाको रामपुर तर्फ मल लिएर गएको लु २ ख ३८१ नम्बरको ट्रक प्रहरी शनिबार विहान नियन्त्रणमा लिएको थियो ।

प्रहरीले चकिङको क्रममा विल नभएको भारतीय जनउर्वरक परियोजना भारत युरिया नामक युरिया मल ३ सय ७२ बोरा अन्दाजी १६ हजार ७ सय ४० किलो मल सहित ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । हुँगी प्रहरी चौकीको टोलीले जाँच गर्दा ट्रकभित्र भारतीय जनउर्वरक परियोजना भारत युरिया नामक युरिया मल बरामद भएको हो । आवश्यक अनुसन्धानको लागि भन्सार कार्यालय तर्फ पठाउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।

मल रामपुर बेझाँड स्थित प्रतिमा प्रतिक इन्टरप्राइजेजको नाममा आएको छ । तर उक्त ट्रकले पहिले चामलको बिल देखाएको र पछि अनुसन्धान गर्दै गर्दा युरियाको बिल फेला परेको स्रोतले जनाएको छ । फेला परेको ३ सय ७२ बोरा भारतीयय रासायनिक मल, त्यसका बिल, आयात गर्ने व्यापारीलगायतका विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?