रामपुर साना शहरी खानेपानीले पानीको महशुल दर घटायो

पाल्पा, रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था रामपुर, पाल्पाले खानेपानी महशुल दर घटाएको छ । साउन १ देखि लागू हुने नयाँ महशुल दर कायम गरेको संस्थाले पत्रकार भेटघाट मार्फत जानकारी दिएको हो ।

महशुल दर परिवर्तनका बारेमा जानकारी दिदै संस्थाका अध्यक्ष एवं लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले आठ युनिटसम्म गत वर्षको न्यूनतम दर १७५ रुपैयाँलाई नै यथावत राखिएको, नौ देखि २० युनिटसम्म पानी उपभोग गर्ने उपभोक्ताले (न्यूनतम रकम १७५ रुपैयाँ सहित) प्रतियुनिट ४० बाट घटाएर ३० रुपैयाँ, २१ युनिटभन्दा माथि (न्यूनतम रकम १७५ रुपैयाँसहित) प्रतियुनिट ६३ बाट घटाएर ५३ रुपैयाँ महशुल मूल्य कायम गरिएको जानकारी दिनुभयो । उहाँले गत वर्ष निम्न वर्गका परिवारलाई मध्यनजर गरी महशुल परिवर्तन गरिएकोमा यस वर्ष मध्यम वर्गीय परिवार र धेरै पानी उपभोग गर्ने परिवारलाई लक्ष्यित गरी महशुल परिवर्तन गरिएको बताउनुभयो ।

संस्थाले साधारण सभा बाट पारित गरी नगर विकास कोषमा दर परिवर्तनका लागि अनुरोध गरेको थियो । कोष बाट श्रावण १० गते प्राप्त अनुमति अनुसार खानेपानी महसुलको दर घटाएको उहाँले स्पष्ट पार्नुभयो । श्रेष्ठले आयोजनाको क्षमता ३ हजार २ सय धारा रहे पनि हालसम्म तीन हजार ९ सय २३ घरधुरीले खानेपानी उपभोगका लागि नाम दर्ता गराएको र तीन हजार ४ सय ९३ घरधुरीमा धारा जडान भैसकेकाले आयोजनाको क्षमता थपका लागि पहल भएको जानकारी दिनुभयो ।

खानेपानी तथा ढलविकास व्यवस्थापन विभाग मार्फत ७ हजार धारा जडान क्षमता सहितको आयोजना सञ्चालन हुने भएको र जसका लागि डिपिआरका हुन गैरहेको समेत बताउनुभयो । झण्डै ५० करोडको लागतमा सञ्चालन हुने आयोजना नेपाल सरकारको ७० प्रतिशत र संस्थाको ३० प्रतिशत लागतमा हुनेछ । संस्थाका उपाध्यक्ष हजुल दिन मियाँले आयोजनाको ऋण अझै बाँकी रहेकाले संस्थाले चाहेर मात्रै महशुल दर घटाउन नसकिएको स्पष्ट पार्नुभयो । कोषाध्यक्ष विष्णु मायाँ ढकालले संस्थाले विपन्न परिवारको लागि आयोजना बाट ४ सय ४२ घरमा निःशुल्क धारा जडान भएको र नगरका वडाहरुको सहयोगमा २ सय धारा जडान गरिएको जानकारी दिनुभयो ।

संस्थाले उपभोक्ताको सहजताको विद्युतिय माध्यम मार्फत महशुल भुक्तानीको व्यवस्था गरेको छ । साथै आफ्नै एप्स सञ्चालनको तयारी गरेको छ । २०६७ सालमा सुरु भएको आयोजनाले डिप बोरिङ्ग मार्फत नगरको वडा नं. ४, ५, ६ र ७ मा शुद्ध खानेपानीको सुविधा घर–घरमा पु¥याउँदै आएको संस्थाका सचिव शालिकराम सिग्देलले बताउनुभयो ।

संस्थाको कार्यालयमा भएको पत्रकार भेटघाट कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष सृजना घिमिरे, पत्रकार सुशिला रेग्मी, कृष्ण प्रसाद पौडेल र इमान सिं राना लगाएतले आफ्ना जिज्ञासा राखेका थिए । संस्थाका अध्यक्ष राजु प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष हजिल दिन मियाँको स्वागत बाट सुरु भएको थियो । सहभागीहरुलाई कोषध्यक्ष विष्णु मायाँ ढकालले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन सचिव शालिकराम सिग्देलले गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?