पाल्पा, निस्दी आवाज युवा सञ्जालले निस्दी गाउँपालिका ३ क्याङ्गरुङ्ग गिनचिसका आगोलागी पिडित परिवारलाई राहत सामाग्री प्रदान गरेको छ । गत शनिबार दिउँसो भएको आगोलागी बाट पिडित बनेका श्याम बहादुर पल्लीको परिवारलाई रहत प्रदान गरेको हो ।
युवा सञ्जालका प्रतिनिधिहरु पल्लीको घरमा पुगेर तत्कालको लागि आवश्यक सामाग्रीहरु प्रदान गरेको हो । खाद्यान्न सहित जाडोका लागि लुगा प्रदान गरेको हो । सञ्जालका प्रतिनिधिहरु मिन सोमै, धन बहादुर ठाडा, ज्ञानु सोमै र इमान सिं राना सहितको टोलीले निस्दी गाउँपालिका ३ का वडा सदस्य याम प्रसाद झेंडी मगरको उपस्थितिमा सामाग्री हस्तान्तरण गरेको थियो । पल्ली परिवारलाई खाद्यान्न, भाँडाकुँडा संगै जाडोका लागि ओढ्ने तथा विछ्याउने सामाग्री तथा सरसफाईका सामान र बालबालिकाको लागि स्टेशनरीको सामान प्रदान गरेको हो ।
निस्दी आवाजले सामाजिक सञ्जाल फेसबुकको माध्यम बाट पिडित परिवारको पिडामा मल्हम लगाउनका लागि सहयोग गर्न आग्रह गरेको थियो । विभिन्न सामाजिक व्यक्तित्व तथा युवाहरुले प्रदान गरेको रकम मार्फत सामाग्री खरिद गरी जिन्सी सामान प्रदान गरेको सञ्जालका प्रतिनिधि मिन सोमैले जानकारी दिनुभयो । अन्य सहयोग संकलनको कार्य जारी रहेको र आवश्यकता अनुसार अन्य सामाग्री सहयोग गर्ने उहाँले बताउनुभयो । श्याम बहादुर पल्लीको श्रीमती भविसरा पल्लीले सहयोग गर्ने दाताहरुलाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।
निस्दी गाउँपालिका ३ का वडा सदस्य याम प्रसाद झेंडीले पल्ली परिवारको लागि गाउँपालिकाले त्रिपाल, खाद्यान्न र लुगा प्रदान गरेको जानकारी दिनुभयो । उहाँले राहतलाई व्यवस्थापन गर्नका लागि पहल गर्ने बताउनुभयो । आगोलागी हुँदा पल्लीको ९ महिनाको नातिनी दिप्सना पल्लीको मृत्यु भएको थियो । घर र गोठ जलेर पूर्ण रुपमा नष्ट भएको थियो । आगोमा परी गोठमा रहेको एक वटा भैंसी र बाख्रा जलेको थियो । साथै एक वटा भैंसी घाईते भएको थियो ।