चापाकोट, स्याङ्जाको चापाकोटमा जारी दोस्रो चापाकोट महोत्सव तथा व्यापार मेलामा मंगलबार देखि जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । प्रथम स्व. सन्तोष थापा स्मृति कप-२०८० अन्तर्गत महोत्सवमा जिल्ला स्तरीय प्रतियोगिता हुन लागेको हो ।
फागुन ८ देखि १२ गते सम्म हुने प्रतियोगिताको बारेमा अाईतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको थियो । प्रतियाेगितामा गण्डकी र लुम्बिनी प्रदेशका गरी १२ टीमको सहभागिता रहने खेल संयोजक राजन दर्लामीले बताउनुभयो । उद्घाटन खेल पाल्पा र पर्वत बीच हुनेछ ।
राष्ट्रिय भलिबल खेलाडी चापाकोट नगरपालिका वडा नं. २ धुर्कोटका सन्तोष थापाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको थियो । स्वर्गीय थापाको स्मृतिमा खुला भलिबल प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ । स्वर्गीय थापा गण्डकी प्रदेशकै होनहार भलिबल खेलाडी थिए ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने समुहले क्रमशः १ लाख ५० हजार, १ लाख र ५० हजार नगद सहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । यसैगरी विभिन्न ६ वटा विधाका उत्कृष्ट खेलाडीलाई जनही ३ हजार नगद सहित ट्रफीले पुरस्कृत गरिने छ ।
प्रतियोगीतामा सहभागी टीमलाई खाने र बस्ने व्यवस्था मिलाईएको आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनका लागि १७ लाख खर्च हुने आयोजकको अनुमान छ । यसका लागि चापाकोट उद्योग वाणिज्य संघले ४ लाख छ्ट्याएको छ भने चापाकोट नगरपालिकाले ५० हजार सहयोग गरेको आयोजकले जनाएको छ । नपुग खर्चको लागि स्थानीय संघ संस्था एवम् व्यक्तिगत सहयोगबाट पूरा गरिने चापाकोट नगर खेलकुद विकास समितिका अध्यक्ष मिलन राना पुरनले बताउनुभयो ।