स्याङ्जा र बाग्लुङ जिल्ला स्तरीय भलिबल प्रतियोगिताको फाईनलमा प्रवेश

पाल्पा, स्याङ्जाको चापाकोटमा जारी जिल्ला स्तरीय भलिबल प्रतियोगितामा स्याङ्जा र बाग्लुङ फाईनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाईनल खेलमा स्याङ्जाले नवलपुर र बाग्लुङले पर्वतलाई पराजित गर्दै फाईनलको यात्रा तय गरेको हो ।

दोस्रो चापाकोट महोत्सव तथा व्यापार मेलाको अवसरमा आयोजित स्व. सन्तोष थापा स्मृति कप अन्तर्गत भएको प्रतियोगिताको सेमिफाईनलमा स्याङ्जाले नवलपुरलाई ३/२ सेट सहित पराजित गरेको थियो । खेलको सुरुवातमा पहिलो र दोस्रो सेट नवलपुरले २५/१९ र २५/१९ अंक सहित आफ्नो पक्षमा लिएको थियो । अन्तत बाँकी तेस्रो, चौथो र पाँचौ सेट भने आफ्नो स्याङ्जाले २५/१५, २५/१९ र १५/१३ अंक सहित जित्दै फाईनलको यात्रा तय गर्न सफल भयो ।

सेमिफाईनल तर्फ नै शनिबार भएको बाग्लुङ र पर्वत विचको खेलमा बाग्लुङले ३/१ सेट सहित जित निकाल्न सफल भयो । पहिलो र दोस्रो सेट २५/२१ र २५/१८ अंक सहित आफ्नो पक्षमा लिएको बाग्लुङले तेस्रो सेट भने २५/२० अंक सहित गुमाउन पुग्यो । अन्तत खेलको चौथो सेट २५/१६ अंक सहित हात पार्दै बाग्लुङले फाईनलको यात्रा सुनिश्चित गर्न सफल भयो । प्रतियोगिताको समुह चरणको खेलमा बाग्लुङ समुह वि र स्याङ्जा समुह ए को विजेता, नवलपुर समुह विको उपविजेता र पर्वत समुह ए को उपविजेता बन्दै सेमिफाईनलमा पुगेको थियो ।

प्रतियोगिताको फाईनल खेल महोत्सव समापनको अवसरमा आईतबार हुनेछ । स्याङ्जा र बाग्लुङ विचको फाईनल खेल दिउँसो १ बजे हुनेछ । तृतिय स्थान छनौटका लागि नवलपुर र पर्वत विचको खेल भने विहान १० बजे देखि हुनेछ । प्रतियोगितामा ७ जिल्लाको सहभागिता रहेको थियो । प्रतियोगितमा प्रथम, दोस्रो र तेस्रो हुने समुहले क्रमशः नगद १ लाख ५० हजार रुपैयाँ, १ लाख रुपैयाँ र ५० हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार, उत्कष्ट स्पाईकर, ब्लकर, सेटर, डिफेन्सर, सर्भर प्रशिक्षकलाई जनही रु ३ हजारको साथमा ट्रफी, मेडल प्रमाण पत्र गरिने छ ।

तस्वीर सौजन्य : सनी पाण्डे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?