लुम्बिनी कप राष्ट्रिय महिला भलिबलको उपाधि एपीएफ क्लवलाई

पाल्पा, रामपुरमा सम्पन्न भएको प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागिय टिम एपीएफ क्लवले चुमेको छ । बुधबार भएको फाइनल खेलमा बागमती प्रदेशलाई ३–२ सेटले पराजित गर्दै सशस्त्र प्रहरी बलको एपीएफ क्लवले उपाधि जितेको हो ।

फाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लवले पहिलो र दोस्रो सेट १८–२५, १७–२५ अंकका साथ गुमाएको थियो । तेस्रो, चौथो र पाँचौ सेटमा २५–१९, २५–१७ र १८–१६ अंक सहित जित निकाल्दै एपीएफले उपाधि हात पारेको हो । बागमती फाइनलमा पराजित भए संगै द्वितीय स्थानमा सिमित भएको छ । त्यस्तै लु्म्बिनी प्रदेश तृतीय भएको छ । तेस्रो स्थान छनौटको खेलमा कोशीलाई ३–० को सोझो सेटमा हराउँदै लुम्बिनी तेस्रो बन्न सफल भएको हो । लुम्बिनीले २५–१०, २५–१६ र २५–२२ अंकका साथ जित हात पारेको थियो । यस संगै कोशी प्रदेशले सान्त्वना स्थान हासिल गरेको छ ।

गत फागुन १८ देखि सुरु भएको प्रतियोगिताको विजेता टोलीले मध्ये प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समुहलाई क्रमशः नगद दुई लाख ५० हजार, एक लाख ५० हजार, ७५ हजार र ३५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रादान गरिएको थियो । प्रतियोगितामा एपीएफका सरस्वती चौधरी उत्कृष्ट खेलाडी घोषित हुनु भएको छ । त्यस्तै एपीएफका निरुता थगुन्ना उत्कृष्ट सर्भर, महेश चौधरी उत्कृष्ट कोच, बागमतीका प्रगति नाथ उत्कृष्ट सेटर, सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्डर, सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर र लुम्बिनीका मिना सुनार उत्कृष्ट स्पाईकर हुनु भएकोछ ।

विजेता समुहलाई पुरस्कार वितरण गर्दै लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले खेलाडीलाई बौद्धिक सम्पतीको रुपमा लिनु आवश्यक रहेको बताउनुभयो । आफ्नै गृहजिल्लामा राष्ट्रिय स्तरको खेल हुनु गौरवको विषय भएको बताउनुभयो । लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले पूर्वाधारको अभावमा राष्ट्रिय स्तरका अन्य खेल सञ्चालनमा समस्या भएको भन्दै पूर्वाधार निर्माणमा जोड दिने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराई, रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापा, रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारी, अन्तराष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप राना, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक घिमिरे जिल्लामा राष्ट्रिय स्तरको खेल सम्पन्न हुनु गौरवको विषय रहेको बताउँदै रामपुर संगै जिल्लाको पहिचानमा थप सहयोग गरेको बताउनुभयो । साथै प्रतियोगिताले महिला सशक्तिकरणमा पनि सहयोग गरेको बताउनुभयो ।

जिल्ला भलिबल संघ पाल्पाका अध्यक्ष राजु गुरुङको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको स्वागत र जिल्ला भलिबल संघ पाल्पाका महासचिव कृष्ण आलेले गर्नु भएको हो । प्रतियोगिता जिल्ला भलिबल संघ पाल्पाको आयोजना, प्रदेश खेलकुद परिषद् लुम्बिनीको प्रवर्द्धन तथा प्रयोजन, नेपाल भलिबल संघको संयोजन, जिल्ला खेलकुद विकास समिति पाल्पा र प्रदेश भलिबल संघ लुम्बिनीको समन्वय, रामपुर नगरपालिकाको संरक्षण, रामपुर उद्योग वाणिज्य संघको प्रवद्र्धनमा भएको प्रतियोगिता छ दिन सम्म भएको प्रतियोगितामा आठ समुहको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?