डुम्रे–गुफाचौर सडक खण्डको स्तरोन्नती हुने

पाल्पा, तानसेन नगरपालिका वडा नं. ८ को डुम्रे देखि वडा नं. १० गुफाचौर हुँदै होलाङ्दी सम्मको सडक खण्ड स्तरोन्नती हुने भएको छ । तानसेन नगरपालिकाले विश्व बैंकको सहयोगमा नगरपालिकाले सडक फराकिलो तथा कालोपत्रे गर्ने कार्य सुरु गर्न लागेको हो ।

नगरको गौरवको योजनाको रूपमा रहेको डुम्रे खोला–सुनडाँडा–तेल्घा–गुफाचौर–गाउँडाँडा–सल्लाघारी–होलाङ्दी जोड्ने मोटरबाटो स्तरोन्नति कार्यको सम्झौता गरिएको हो । विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालन हुने सडक स्तरउन्नतीका लागि तानसेन नगरपालिका र वेदान्सी इन्फ्राइन्सट्रक्चर प्रालि बीच सम्झौता भएको छ । तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, उपप्रमुख प्रतिक्षा गाहा सिङ्जाली, प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिला सहित वडाध्यक्ष र कर्मचारीहरुको उपस्थितिमा आयोजनाको सम्झौता भएको हो ।

आयोजनाको कुल सम्झौता रकम ४५ करोड ७६ लाख ८३ हजार ८४ रूपैयाँ ७७ पैसा रहेको छ । तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले पर्यटन प्रवद्र्धनका लागि यस सडक नगर गौरब योजनाको रुपमा अघि बढाएको बताउँदै सडकको योजना धेरै प्रयास पछि ल्याउन सफल भएको बताउनुभयो । सडक निर्माण भएपछि तानसेन नगरपालिका वडा नं. ५, ८, १० र ११ का नागरिकहरू लाभान्वित हुने नगर प्रमुख श्रेष्ठले बताउनुभयो । बाटो स्तरउन्नति आन्तरिक पर्यटकको रोजाई रहेको पर्यटकिय स्थल गुफा चौरको पर्यटन प्रवर्द्वनमा महोत्वपुर्ण भूमिका खेल्ने अपेक्षा रहेको बताउनुभयो ।

तानसेन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाका अनुसार आयोजना १३ महिना भित्र काम सक्ने गरी वेदान्सी इन्फ्राइन्सट्रक्चर प्रालि संग सम्झौता गरिएको बताउनुभयो । यस आयोजनाबाट करिब ६ दशमलव ८ किलोमिटर सडकको स्तरउन्नती हुने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?