पाल्पा, नेपाली कांग्रेस पाल्पाले समसामयिक जनसरोकारका विषयमा प्रशासनको ध्यानाकर्षण गराएको छ । सोमबार जिल्ला सभापति हिमालदत्त श्रेष्ठको नेतृत्वमा गएको कांग्रेस नेताहरुको एक टोलीले जिल्ला प्रशासन कार्यालय पुगेर जिल्लाको समसामयिक विषय र घटनाक्रमको विषयमा प्रमुख जिल्ला अधिकारी काफ्लेको ध्यानाकर्षण गराएको हो।
प्राकृतिक विपत्ति, जंगलमा डढेलो, मानव बस्तीमा आगलागी, वातावरणीय प्रदुषण तथा विभिन्न संघ संस्थाबाट सर्वसाधारण नागरिकहरुले खेप्नु परेका समस्या, यातायातको भाडादरमा अपारदर्शिता, पशुचौपायाको अवैध निकासी भएका विषयमा ध्यानाकर्षण गराएको छ ।
काँग्रेसले लामो खडेरी र प्रचण्ड गर्मीका कारण आगलागीका घटना बढ्दै जाँदा जनजीवन अस्तव्यस्त हुनुको साथै ठूलो भौतिक क्षति व्यहोर्नु परेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जंगल र मानववस्तीमा सल्केको आगो नियन्त्रणबाहिर जाने अवस्थामा रहेकाले बेलैमा प्रभावकारी कदम नचालिए थप जनधनको क्षति हुनुको साथै पर्यावरणीय सन्तुलनमा समेत व्यापक असर पार्ने भएकाले त्यसतर्फ स्थानीय, प्रदेश, संघीय सरकार र राजनीतिक दलहरुसँग समन्वय गरी प्रकोप न्यूनिकरण र राहतका लागि यथाशीघ्र कदम चाल्न आग्रह गरेको छ ।
काँग्रेस जिल्ला सभापति हिमालदत्त श्रेष्ठद्वारा जारी ध्यानाकर्षण पत्र मार्फत देशभर सहकारी काण्डका घटनाहरु बहिर आइरहेकाले पाल्पामा पनि त्यस्तो अवस्था सिर्जना नहोस् भन्ने उद्देश्यले आवश्यक समन्वय र अनुगमन गर्न माग गरेको छ । पाल्पा जिल्लामा सञ्चालित सहकारीको अवस्था के छ ? बचत र ऋण परिचालन सहकारीको मापदण्डअनुसार भएको छ कि छैन ? यस विषयमा कानुनको अधिनमा रही आवश्यक समन्वय र अनुगमनका निम्ति जोडदार माग गर्नुका साथै आमजनताले आफ्नो पसिना खर्च गरेर जम्मा गरेको बचत कुनै पनि अवस्थामा डुब्नु हुँदैन भन्ने मान्यतामा नेपाली काँग्रेस आडिग रहेको पत्रमा उल्लेख छ ।
नागरिकको जिउ धनको सुरक्षा राज्यको पहिलो प्राथमिकता रहेको र हुनुपर्ने काँग्रेस सभापति हिमालदत्त श्रेष्ठले बताउँदै श्रेष्ठले जनताका हरेक समस्यामा कॉंग्रेस पाल्पा सबैसँग हातेमालो गरेर हिड्न तयार रहेको उल्लेख गर्नु भयो । ‘लामो खडेरीका कारण कृषि उत्पादनमा पर्ने असर र यसले आमकृषकलाई पार्ने क्षति न्यूनीकरणका निम्ति आवश्यक समन्वयका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछौं ।’ पत्र मार्फत भनिएको छ ।
विगत केही दिनदेखि कालीगण्डकी कोरीडोर भएर अवैध रुपमा पशुचौपाया निकासी भईरहेको भन्ने व्यापक जनगुनासो आइरहेको र सोही विषयलाई लिएर रामपुरमा झडप समेत भएको विषयप्रति नेपाली काँग्रेसको गम्भीर ध्यानाकर्षण भएको समेत पत्रमा उल्लेख छ । सो विषयमा सत्यतथ्य जनसमक्ष ल्याउन र आगामी दिनहरुमा त्यस्ता गतिविधि हुन नदिने व्यवस्था गर्न पनि कांग्रेसले माग गरेको छ । स्वास्थ्य बीमा सबै नेपालीको स्वास्थ्य उपचारसँग सम्बन्धित विषय भएकाले सबैसँग मिलेर स्वास्थ्य बीमा कार्यक्रम सहज र विरामीमैत्री बनाउन सम्बन्धित निकायसंग कांग्रेसले पहल गरेको बताइएको छ । तर सेवा प्रदायक स्वास्थ संस्थाहरुबाट सहज सेवा प्राप्त भएन भन्ने जनगुनासो आएकाले यसप्रति पनि काँग्रेसको ध्यानाकर्षण भएको जनाइएको छ । उसले यस विषयमा सिफारिश प्रक्रिया झन्झटिलो भएकाले उक्त प्रक्रिया सरल र सहज बनाउन सम्बन्धित निकायमा तत्काल पहल गरिदिन समेत जोडदार माग गरेको छ ।
काँग्रेसले जिल्ला भित्रका विभिन्न ठाउँमा निर्माण र मर्मत सम्भारको काम भइरहेका ठाउँहरुमा खाल्डा खुल्डी धुलो आदिका कारणले यात्रु वर्गलाई असुविधा भइरहेकाले त्यसतर्फ पनि ध्यान दिन अाग्रह गरेको छ । पाल्पामा सञ्चालित खानी, उद्योगहरु मापदण्डअनुसार नचलेको, नजिकमा मानववस्तीमा वातावरणीय असर पुगिरहको भन्ने जनगुनासो प्रति पनि आपफ्नो ध्यानाकर्षण भएको जनाएको छ । तत्काल
जिल्लामा रहेका सार्वजनिक जग्गा र यहाँ रहेका ऐतिहासिक, सांस्कृतिक पुरातात्विक, धार्मिक सम्पदाहरुको संरक्षण र सम्वर्द्धनमा समेत ध्यान दिनुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ । प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले ध्यानाकर्षण पत्र बुझ्दै ध्यानाकर्षण गराएका जनसरोकारका विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ । काँग्रेसले उठाएका केही विषयहरु सम्बोधन भइसकेको र केही सम्बोधनकै क्रममा रहेको उल्लेख गर्नुभयो । काफ्लेले जनताका समस्या समाधानमा स्थानीय, प्रदेश, संघीय सरकार राजनीतिक दलहरुसँग समन्वय भइरहेको बताउनुभयो । कार्यक्रममा कांग्रेस जिल्ला सचिव सुनिता अधिकारीले ध्यानाकर्षण पत्र प्रस्तुत गर्नु भएको थियो ।