तिलीसराको परिवारलाई सहयोग जुट्दै

पाल्पा, वर्षादका कारण घर भत्किए पछि छिमेकीको घरमा बस्दै आएका रामपुर ६ तिलकपुरका तिलीसरा सुर्यवंशीको परिवारलाई सहयोग जुट्न थालेको छ । निरन्तरको वर्षाद संगै गत साउन ९ गते ३ तले कच्ची घर भत्कीए पछि छिमेकीकोमा बस्दै आएको खबरहरु आए पछि विभिन्न संघ संस्थाहरु बाट सहयोग जुट्न थालेको हो ।

नयाँ घर निर्माणका लागि संघ संस्थाहरुले रकम सहयोग गर्न थालेका हुन् । यसै क्रममा क्रियाशिल मगर उत्थान समुह रामपुर ७ किसानबारी र शहीद बहुमुखी क्याम्पस रामपुर ७ किसानबारीको विविएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले रकम सहयोग गरेको हो । क्रियाशिल मगर उत्थान समुहले १० हजार ५० र विविएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले २९ हजार ९ सय ८० रुपैयाँ सहयोग गरेको हो । क्रियाशिल मगर उत्थान समुह र विद्यार्थीहरुले छुट्टा छुट्टै कार्यक्रम गरी तिलीसरा सुर्यवंशीलाई रकम हस्तान्तरण गरेको हो । क्रियाशिल मगर उत्थान समुहका तर्फ रामपुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष हुमनाथ न्यौपाने, तालपोखरा संरक्षण समितिका अध्यक्ष सागर प्रसाद देवकोटा, समुहका अध्यक्ष राम बहादुर हिस्की थापा सहित समितिका पदाधिकारीहरुले संयुक्त रुपमा रकम हस्तान्तरण गरेका थिए । रकम हस्तान्तरण गर्दै रामपुर ६ का वडा अध्यक्ष न्यौपानेले दैविक प्रकोप बाट पिडित परिवारका लागि नगरपालिकाले राहतहरु घोषणा गरिसकेको बताउँदै चाँदै नै रकम प्रदान गरिने बताउनुभयो । उहाँले प्रदेश सरकारसंग पनि नगरपालिकाले समन्वय गरिरहेको बताउँदै वडाले पनि घर निर्माणको लागि आवश्यक समन्वय गर्ने बताउनुभयो ।

कार्यक्रममा तालपोखरा संरक्षण समितिका अध्यक्ष सागर प्रसाद देवकोटाले क्रियाशिल मगर उत्थान समुहले समाजको समस्यामा देखाएको सक्रियताको प्रशंसा गर्दै अन्य समुहले पनि अनुकरण गर्नु पर्ने बताउनुभयो । वडा नं. ६ का वडा सदस्य लोकमायाँ कुमालले पनि स्थानियस्तर बाट आवश्यक सहयोग गर्न प्रतिवद्ध रहेको जानकारी दिनुभयो ।  कार्यक्रममा समुहका सहसचिव सुनिता राना, सहकोषाध्यक्ष विष्णु बहादुर राना, सदस्य दुर्गादेवि राना, दिल बहादुर सुनारी, ट्याङ्ङ्गा लाफाकुङ्ग रेन्झा समुहका संयोजक रेम बहादुर रानाले पनि आफ्नो भनाई राख्नु भएको थियो । कार्यक्रममा समुहका अध्यक्ष रामबहादुर हिस्की थापाले समुहले यस अघि पनि विभिन्न स्थानमा सहयोग गर्दै आएको उल्लेख गर्दै दुखमा रहेकालाई सहयोग गर्नु मानवीय धर्म रहेको बताउनुभयो । उहाँले पिडितहरु मलहम लगाउने प्रयास स्वरुप समुहको कोष बाट केही रकम प्रदान गरेको बताउनुभयो । कार्यक्रममा जुनतारा मगर समुहका अध्यक्ष टोप बहादुर राना सहभागीलाई धन्यवाद दिनु भएको थियो । समुहका अध्यक्ष राम बहादुर थापा हिस्कीको अध्यक्षतामा भएको कार्यक्रम संस्थाका सहअध्यक्ष मञ्जु देवी रानाको स्वागत र सचिव केश बहादुर थापा सारुको सञ्चालनमा गर्नु भएको हो ।

शहीद बहुमुखी क्याम्पस रामपुर ७ किसानबारीको विविएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले पनि एक कार्यक्रम गरी रकम सहयोग गरेको हो । तिलीसरा सुर्य वंशीको छोरी रिमा सुर्यवंशी विविएस तेस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ । क्याम्पसमा अध्ययनरत विविएस तेस्रो वर्षका विद्यार्थीहरुले साथीको दुखमा सहयोग गर्नका लागि कक्षाका सहपाठी तथा अन्य कक्षाका सहपाठीहरु संग रकम संकलन गरी हस्तान्तरण गरेको थियो । विद्यार्थीहरुले पनि सुर्यवंशी परिवारलाई घर मै पुगेर रकम हस्तान्तरण गरेको हो ।

विविएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुको तर्फ बाट ल्याकट अलीले रकम हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा बोल्दै शहीद बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति जिवन तिवारीले साथीको दुखमा साथ दिनका लागि विद्यार्थीहरुले चालेको कदमको प्रशंसा गर्नु भयो । उहाँले दुःख कस्लाई कति बेला पर्छ भर नहुने भएकाले दुखहरुको मिलेर सामना गर्नु पर्ने बताउनुभयो ।
विविएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी ल्याकट अलीले साथीको घरको अवस्थाको बारेमा अवगत नभएको र थाहा पाउने वित्तिकै सहयोगको लागि जुटेको बताउनुभयो । सहयोगका लागि आएका साथीहरुलाई रिमाले धन्यवाद दिदै घरको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । ल्याकट अलीको अध्यक्षतामा भएको कार्यक्रमको मन कुमारी श्रेष्ठको स्वागत र प्रकाश सुनारको सञ्चालनमा भएको हो । यस अघि सुर्यवंशी परिवारलाई भम्बक युनाईटेड युथ क्लव रामपुर ५ पाल्पाले सहयोग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?