कार्तिक २ ।
पाल्पा, रामपुरमा शनिबार (भोलि) देखि हुन गैरहेको दोस्रो ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । शनिबार देखि आगामी १० गतेसम्म रामपुर नगरपालिका-७ किसानबारीमा हुन गैरहेको प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको आयोजक ज्योतिपुञ्ज युवा क्लवले जनाएको छ ।
जिल्ला कै सर्वाधिक पुरस्कार राशी सहित किसानबारी स्थित ज्योतिपुञ्ज खेल मैदानमा हुने प्रतियोगितामा रुपन्देही, पोखरा, काठमाडौँ, स्याङ्जा, पूर्वी नवलपरासी, पश्चिम नवलपरासीका उत्कृष्ट १० क्लवले प्रतिस्पर्धा गर्दैछन् । ज्योतिपुञ्ज युवा क्लवका अध्यक्ष सुदीप गौतमका अनुसार प्रतियोगितामा गन्नी फुटबल क्लब पोखरा, देवदह ब्वाईज रुपन्देही, आयोजक ज्योतिपुञ्ज युवा क्लब पाल्पा, होराइजन क्लब वालिङ, भैरव स्पोर्ट नवलपरासी, युनाइटेड युथ क्लब गिरवारी पुर्वी नवलपरासी, फर्साटिकर फुटबल क्लब रुपन्देही, त्रिशक्ति युथ क्लव काठमाडौ, २८ बिघा युथ क्लब कावासोती पुर्वी नवलपरासी, न्यू युथ युनियन तानसेन पाल्पाले प्रतिस्पर्धा गर्नेछ । क्लवको २८ औं वार्षिक उत्सवको अवसर हुनलागेको दोस्रो संस्करणको प्रतियोगिता हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको गौतमले जानकारी दिनुभयो ।
प्रतियोगिताको खेलतालिका गत असोज २६ गते सार्वजनिक भैसकेको छ । प्रतियोगिताको उट्घाटन खेल शनिबार दिउँसो साढे ३ बजे फर्साटिकर युथ क्लव रुपन्देही र भैरव स्पोट्र्स क्लव नवलपरासी विच हुने खेल संयोजक अनिल शाहीले जानकारी दिनुभयो ।
<span;>प्रतियोगिताको विजेताले नगद ३ लाख ३ हजार ३३३ र उपविजेताले १ लाख ७७ हजार ७७७ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । साथै उत्कृष्ट खेलाडीलाई १५ हजार ५५५ र प्रत्येक विधामा ७ हजार ७७७ व्यवस्था गरिएको छ । फुटबलको विकास, स्थानीय खेलाडीलाई प्रोत्साहन संगै रामपुर नगरको पहिचान तथा पर्यटन प्रवद्धर्नका लागि प्रतियोगिता आयोजना गरिएको क्लवले जनाएको छ ।
प्रतियोगिताको संरक्षकमा रामपुर नगरपालिका, सहयोगी संस्थाहरुमा लुम्बिनी प्रदेश खेलकुद परिषद्, जिल्ला खेलकुद विकास समिति–पाल्पा, नगर खेलकुद विकास समिति–रामपुर नगरपालिका, पाल्पा र जिल्ला फुटबल संघ,उद्योग बाणिज्य संघ रामपुर रहेको छ ।