पुस १२ ।
पाल्पा, तानसेन नगर स्तरीय दाेस्रो मेयर कप फुटबल प्रतियाेगिताकाे उपाधि वडा नं.१ ले हात पारेको छ । फाइनल खेलमा वडा नं.१ ले वडा नं. ९ लाई ३/२ गोल अन्तरले पछि पार्दै उपाधि हात पार्न सफल भएको हाे ।
तानसेन टुडिखेल मैदानमा भएको तानसेन नगर स्तरीय दाेस्रो मेयर कप प्रतियाेगितामा वडा नं. ९ ले उपविजेतामा चित्त बुझाएको छ । प्रतियाेगितामा विजेताले १ लाख ५५ हजार ५५५ रूपैयाँ र उपविजेताले ७५ हजार ५ सय ५५ रूपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियाेगितमकाे समापन कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठले खेलकुदले समाजमा एकता, अनुशासन, र स्वस्थ्य जीवनशैली प्रवर्द्धन गर्ने बताउनुभयो । प्रतियोगिता नगरका युवाहरूको प्रतिभा र क्षमता उजागर गर्ने एउटा महत्वपूर्ण अवसर बनेको बताउनुभयाे । “मेयर कपको मुख्य उद्देश्य नगरका युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने मंच उपलब्ध गराउनु हो । यस प्रतियोगिताले केवल खेल मात्र होइन, एकता, अनुशासन, र सहकार्यको महत्त्वलाई पनि सिकाएको छ।” उहाँले भन्नुभयो । तानसेन नगरपालिकाले खेलकुद क्षेत्रको विकासलाई निरन्तर प्राथमिकता दिँदै आएको बताउँदै आगामी दिनमा खेलकुद पूर्वाधार निर्माण, प्रशिक्षण कार्यक्रम र थप प्रतियोगिताको आयोजना गरेर युवाहरूलाई थप अवसरहरू दिने नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा तानसेन नगरपालिकाका उप प्रमुख प्रतिक्षा गाहा सिङ्जालीले नगरका प्रतिभाशाली युवा खेलाडीहरूको क्षमता उजागर गर्नु र खेलकुद मार्फत आपसी भाइचारा, अनुशासन, र स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्न प्रतियाेगिताले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । खेलकुदलाई नगरको विकास र युवाहरूको उत्थानको एउटा महत्त्वपूर्ण माध्यमका रूपमा लिएको बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिला, नगरपालिकाका प्रवक्ता यादब सिं कार्की,वडा नं. १ का वडा अध्यक्ष सुनिल कुमार बस्याल, वडा नं.३ का वडा अध्यक्ष बाबू रत्न शाक्य, तानसेन वडा नं. ९ का वडा अध्यक्ष राजेश कुमार अर्याल, नगरपालिकाका कर्मचारी लगाएतकाे उपस्थिति रहेको थियाे । कार्यक्रम तानसेन नगरपालिका वडा न ४ का वडा अध्यक्ष एवम तानसेन नगरपालिका खेलकुद विकास समितिका संयाेजक हेमन्त राज शाक्यकाे सञ्चालनमा सम्पन्न भएको थियाे ।