गाउँ मै राँगो पालेर राम्रो आम्दानी गर्दै टिकाराम विश्वकर्मा

धनबहादुर ठाडा
पुस २५ ।
पाल्पा, शिरमा टलक्क ढाका टोपी, हातमा एउटा लठ्ठी लिएर गाउँ- गाउँमा राँगो दोहोर्‍याउदै दैनिकी बिताउनुहुन्छ गल्धाका टिकाराम विश्वकर्मा । उमेरले उहाँ ५५ वर्षको हुनुहुन्छ । जोश जाँगर भने २०/ २१ वर्षका ठिटाहरुको भन्दा कम छैन ।

हिजोआज धेरैजसो गाउँमा बीउ राँगो पाल्ने कृषकहरु भेट्टाउन मुस्किल पर्छ । तर निस्दी गाउँपालिका -५, गल्धा, बेलडाँडाका टिकारामले भने विगत १४ वर्षदेखि कृषकहरुकोमा भैंसी प्रजनन्का लागि राँगो पुर्याएर गुजारा चलाउदै आउनुभएको छ । “कुनै काम सानो ठूलो हुँदैन । हामीले जे काम पनि खुसी मनले गर्न सक्यो भने जिन्दगी सजिलैसँग चलाउन सकिन्छ ।” उहाँ भन्नुहुन्छ  ।आजभोलि पैसा कमाउनको लागि धेरैजसो विदेश नै जाने गर्छन । तर टिकाराम भने परिवारसँगै बसेर गाउँमै राँगो घुमाएर आनन्दले गुजरा चलाउँदै आउनुभएको छ ।
“मैले यो काम गर्न थालेको १४ वर्ष भयो । उमेर र शरीरले  साथ दिए सम्म यो कामलाई निरन्तरता दिन्छु ।” टिकाराम भन्नुहुन्छ, “धेरै टाढा – टाढाबाट फोन आउँछ । म राँगो लिएर पुग्दा धेरै गाउँलेहरुले खुसी व्यक्त गर्छन । मैले यो काम गरेर पैसा मात्रै होइन, इज्जत र सम्मान पाएको छु  । सबैभन्दा ठूलो कुरा त गाउँका कृषकहरुको  सेवा गरेजस्तो लाग्छ ।”

टिकारामले एकपटक राँगो लागे बापत अहिलेसम्म एक हजार पाँच सयदेखि दुई हजार पाँच सयसम्म लिने गरेको बताउनुहुन्छ । “टाढा र नजिकको दूरी हेरेर पैसा लिने गरेको छु ।” सबैले खुसी मनले पैसा दिने उहाँको भनाइ छ । सिजनको बेला महिनामा २० / २५ ठाउँसम्म राँगो पुर्याउन भ्याइनभ्याई हुने  टिकाराम बताउनुहुन्छ । “पहिलोपटकमा भैंसीको गर्भ नबसे दोस्रोपटक राँगो लैजानुपर्दा अलि कम पैसा लिने तर धेरै जनाले त पहिलाको दररेट अनुसारनै पैसा दिने उहाँको भनाइ छ । एउटा राँगोले ३ देखि ७ वर्षसम्म काम दिने बताउनुहुँदै एक वटा राँगोबाट मात्रै उहाँले १२ देखि १५  लाखसम्म  कमाएको बताउनुभयो ।

टिकारामले एक कल फोनको भरमा राँगो पुर्याउनुहुन्छ । भैंसी पालक कृषक भने आउनु पर्दैन । उहाँ एक्लैले राँगो दोहोर्‍याएर गाउँ – गाउँमा पुर्याउनुहुन्छ । शिरमा टलक्क ढाका टोपी, साधारण दौरा सुरुवाल र चप्पल लगाउदै, हाटमा एउटा लठ्ठी लिएर मिठो मुस्कान सहित टिकारामलाई राँगो दोहोर्‍याउदै बेलडाँडा सेरोफेरोको  बाटोमा प्रायः भेट्ने गरिन्छ । उहाँको एउटा राम्रो बानी छ । सडकमा सवारी साधन भेटे आफैले आफ्नो राँगोलाई साइडमा लानुहुन्छ । अनि मिठो मुस्कान सहित नरम भाषामा बोलचाल गर्नुहुन्छ । धेरै टाढाको गाउँमा राँगो  लागेको बेला बाटोमा दुख दिदैन भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, नाकमा झुन्डिएको दोरीले दोहोर्‍याएर लान्छु । अहिलेसम्म कुनै किसिमको दु:ख नपरेको बताउनुहुन्छ ।  टिकारामको परिवारमा श्रीमती, दुई छोरा र चार बहिनी छोरी हुनुहुन्छ । उहाँको परिवारले  खेतीपातीसँगै बाख्रा पालन समेत गर्दै आएका छन् । छोराहरु रोजगारीको सिलसिलामा घरभन्दा बाहिर छन्।  छोरीहरुले पनि बिहान बेलुका घरको काममा सघाउदै आएको बताउनुहुन्छ ।

“सुरु – सुरुमा म आफैलाई विश्वास थिएन । बाटोमा राँगोले दुख दिने होकी भन्ने चिन्ता हुन्थ्यो । तर बिस्तारै बानी परेकोले अहिले त धेरै सजिलो र आनन्द लाग्छ । बाटोमा देख्नेहरु धेरैले अचम्म मान्दै सोध्ने गर्छन । यो के गरेको हो तपाईंले, कता लिएर हिँड्नुभएको हो राँगोलाई, तपाईंलाई हान्दैन, जस्ता प्रश्न सोध्छ्न । कोहि कसैले त बेच्न हिडेकोको सोच्दा रहेछन् । मोलतोल गर्न समेत भ्याउँछ्न् ।” टिकारामले हाँस्दै भन्नुभयो । त्यसो त उहाँलाई यो कामले गर्दा धेरैले चिनेका छन् । एउटा मिहिनेती र इमानदारी  उदाहरणीय कृषक बन्नु भएको छ । आफ्नो कामबाट उहाँलाई  घर व्यवहार चलाउन धेरै सजिलो भएको बताउनुहुन्छ ।

यता निस्दी गाउँपालिका पशु शाखा संयोजक ओम बहादुर मश्राङ्गीका अनुसार कृतिम गर्भधान गराउन  इच्छुक भैंसी पालक कृषकहरुलाई पालिकाले एआई सेवा उपलब्ध गराउँदै आएको बताउनुभएको छ । साथै उहाँले टिकाराम विश्वकर्मा जस्ता मिहिनेती कृषकहरूलाई पालिकाबाट उचित सम्मान र सहयोगको आवश्यकता रहेकोे समेत बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?