वायोमेट्रिक भेरिफिकेसन सम्बन्धी तालिम रामपुरमा सम्पन्न

पाल्पा,सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको वायोमेट्रिक भेरिफिकेसन सम्बन्धी तालिम रामपुर नगरपालिकामा शुक्रबार सम्पन्न भएको छ । वायोमेट्रिक प्रणाली मार्फत लाभग्राहीहरुको प्रमाणिकरण गर्ने भए पछि वडा सचिव र सहायक कर्मचारीहरुका लागि तालिम प्रदान गरिएको हो ।

कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत चेमन प्रकाश पोखरेलले नेपाल सरकारको निर्देशन र प्रक्रिया अनुसार काम गर्न आग्रह गर्नुभयो । साथै प्रणाली नयाँ भए पनि सेवाग्राहीलाई सजिलो र सहज तरिकाले सेवा प्रदान गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा रामपुर नगरपालिकाका पञ्जिकरण शाखाका प्रमुख प्रतिमा घिमिरेले नेपाल सरकार राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागको परिपत्र र निर्देशन अनुसार तालिम सञ्चालन गरिएको भन्दै सामाजिक सुरक्षा भत्ता लिने नयाँ लाभग्राहीले   अनिवार्य रुपमा राष्ट्रिय परिचय पत्र र बायोमेट्रिक भेरिफिकेसन गर्नु पर्ने बताउनुभयो ।

 

नगरपालिका भित्रका १० वटै वडाका वडा सचिव र सहायक कर्मचारीहरुको सहभागिता रहेको तालिमको सहजिकरण सूचना प्रविधि अधिकृत महेन्द्र प्रसाद श्रेष्ठले गर्नु भएको थियो । नगरपालिकाको सभाहलमा भएको तालिममा वायोमेट्रिक मेसिन चलाउने तरिका ,भेरिफिकेसन कसरी गर्ने, कुन कुन कुरालाई ध्यान दिने लगायतका विषयमा सहजिकरण गरिएको थियो । निमित्त प्रमुख प्रशासकीय अधिकृत चेमन प्रकाश पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सूचना प्रविधि अधिकृत महेन्द्र प्रसाद श्रेष्ठले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?