लगानी मैत्री वातावरण निर्माणका लागि अध्यादेश ल्याइएको हो : मन्त्री शाही

माघ १५ ।
पाल्पा, नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले देशमा लगानी मैत्री वातावरण निर्माणका लागि सरकारले अध्यादेश ल्याएको बताउनु भएको छ । चौथो रामपुर महोत्सव तथा व्यापार मेलाको समुद्घाटन गर्दै सरकारले मुलुकको विकास र जनता राहत प्रदान गर्नका लागि अध्यादेश ल्याएको बताउनुभयो ।

उहाँले देशमा नयाँ उद्योग स्थापना, उद्योगलाई व्यवस्थित गर्दै लगानी मैत्री वातावरण सृजना गरेर नीजि क्षेत्रलाई प्रोत्साहन गर्दै देशलाई समृद्धिको यात्रामा अघि बढाउन अध्यादेश ल्याईएको स्पष्ट पार्नु भयो । विगतको राजनीतिक गठबन्धन बाट जनताले गरेको आशा तीन महिनामा सरकार सरकार बन्ने भत्किने गर्दा राजनैतिक दल प्रति वितृस्णा सृजना भैरहेको अवस्था विकासको आशा जगाउन अहिलेको सरकार गठन भएको बताउनुभयो । सरकार एक पछि अर्को सम्भावनाहरुको उजागर गर्दै अघि बढेको बताउनुभयो ।

मन्त्री शाहीले वन तथा वातावरण संग सम्बन्धित पुराना ऐन संशोधनको प्रक्रिया बढाएको समेत जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वन तथा वातावरण मन्त्रालयले धेरै पुराना कानुनलाई अवलम्बन गर्दै आईरहेको थियो । त्यसले गर्दा धेरै जटिलताहरु भोग्नु पर्‍यो । वनलाई विकास विरोधी मन्त्रालयको रुपमा अपजस भोग्नु परिरहेको स्थित छ । त्यसलाई मध्यनजर गर्दै वन तथा वातावरण मन्त्रालय संग जोडिएका चार/पाँच वटा ऐनहरु संशोधन गर्ने प्रक्रिया अघि बढाएका छौं ।”

जलवायु परिवर्तनको प्रभावका कारण नेपालले ठूलाठूला घटना बेहोर्नु परेको भन्दै जलवायु परिवर्तनले पार्ने समस्या न्यूनिकरणका लागि कार्यहरु अघि बढाएको जानकारी दिनुभयो । उहाँँले रामपुर धार्मिक, संस्कृति र प्रकृति हिसाबले सम्भावना भएको मुलुक रहेको बताउनु भएको थियो । राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले कालीगण्डकी नदी धार्मिक नदी मात्र नभै यहाँको जीवन संग जोडिएको बताउँदै एउटा क्षेत्रका जनताको मुख थुनेर, कालीगण्डकी वेशी क्षेत्रलाई मरुभुमि बनाएर अर्को स्थानलाई सिंचाई गर्ने कुरा मान्य नहुने बताउनुभयो । कालीगण्डकी वेशीमा रहेका उर्वर भूमिको सिंचाईका लागि राज्यले ध्यान दिनुपर्ने बताउनुभयो । फरक प्रसंगमा उहाँले जनप्रतिनिधिहरुलाई छलेर ल्याउने विद्येयक मान्य नहुने बताउनुभयो ।

लुम्बिनीप्रदेश सभाका अर्थ उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठले सरकारले ल्याएको अध्यादेशले उद्योग तथा व्यवसायमा उत्साह थपेको बताउनुभयो । पाल्पाको विकासमा देखिएका समस्याको बारेमा जानकारी गराउँदै उहाँले रामपुरलाई व्यवस्थित शहरको रुपमा विकास गर्न प्रदेशले पनि प्रयास गरेको बताउनुभयो । लुम्बिनी प्रदेशका पूर्व मन्त्री विर बहादुर रानाले उद्योग तथा व्यवसायले गति नलिदा सम्म देशको विकास हुन नसक्ने बताउनुभयो । संघिय सरकारले पुराना कानुनहरु फष्ट्रयाकको माध्यम बाट संशोधन गर्नु आवश्यक रहेको बताउनुभयो ।

जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले विदेश बाट आल्मुनियम ल्याउने र यहाका बोटहरु प्रयोग गर्न नपाएर डढेलोले नष्ट भएर जाने अवस्था रहेको भन्दै सरकारले वन संरक्षण संगै पैदावार प्रयोगमा ध्यान दिनु पर्ने बताउनुभयो । रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले कालीगण्डकी डाईभर्सन कुनै हालतमा हुन नहुने बताउनुभयो । गण्डकी वेशी क्षेत्रका जनताको जीवन र जगत संग जोडिएको कालीगण्डकी नदी डाईभर्सन नगरी यहीका जनताले उपभोग गर्न पाउनु पर्ने बताउनुभयो । रामपुर नगरपालिकाले उत्पादनलाई जोड दिएर आफ्‌नो गतिविधि सञ्चालन गर्दै आएको बताउनुभयो ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले उद्योग तथा व्यवसाय सञ्चालनको लागि सहज वातावरण तयार गर्न प्रशासन प्रतिवद्ध रहेको बताउनुभयो । उद्योग तथा व्यवसायलाई थप चलायमान बनाउन मेला महोत्सवले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले रामपुर क्षेत्रको विकासका लागि तीनै तहका सरकार प्रतिवद्ध भएर लाग्नु पर्ने बताउनुभयो । स्थानीय कला र संस्कृतिको जगेर्नामा स्थानीय सरकारको महत्वपूर्ण भुमिका रहने बताउनुभयो । राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामीले मेला कतिपटक भयो भन्दा पनि यहाँका व्यवसायीले कति लाभ लियो भन्ने कुरा महत्वपूर्ण हुने बताउनुभयो । देशका युवाहरु विदेशिने क्रम बढ्दो रहेको भन्दै राज्य यस तर्फ गम्भिर हुनु पर्ने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य मोहन श्रेष्ठले विकासमा निजी क्षेत्रको महत्वपूर्ण भुमिका रहने बताउनुभयो । अन्तराष्ट्रिय विपि चिन्तन प्रतिस्थानका अध्यक्ष सन्दिप रानाले रामपुर, व्यापार व्यवसाय मात्र नभै धार्मिक, ऐतिहासिक र सामरिक महत्वको स्थान भएको बताउनुभयो । उहाँले कालीगण्डकी करिडोर भविष्यमा चीन र भारतको अन्तराष्ट्रिय व्यापारिक मुल मार्गको रुपमा स्थापित हुँदै गर्दा रामपुरलाई व्यापारिक स्थलको चिनाउन आवश्यक पूर्वाधार निर्माणमा जोड दिनु आवश्यक रहेको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश कार्यवाहक अध्यक्ष कुल प्रसाद न्यौपाने, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शलेन्द्र भट्टराई, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका अध्यक्ष रिता थापा मगर र नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष बन्दना पोखरेलले महोत्सवले स्थानीय संस्कृतिको संरक्षण र उत्पादनको बजारिकरणमा टेवा दिने बताउनुभयो ।

रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले चौथो संस्करणको मेलाको उद्देश्य बारे जानकारी दिदै विशेष गरी कालीगण्डकी वेशी क्षेत्रकोे पहिचान, स्थानीय उत्पादनको बजारिकरण, कला संस्कृतिको संरक्षण, पर्यटन प्रवद्र्धन एवं प्रचारप्रसार संगै उद्योग, व्यापार र पर्यटनको सम्भावनाको उजागर गर्ने उद्देश्यका साथ मेला सञ्चालन गरिएको बताउनुभयो । कार्यक्रम रामपुर उद्योग वाणिज्य संघका महासचिव खिम बहादुर क्षेत्री (पुरुषोत्तम)को सञ्चालनमा भएको थियो । रामतुलसी माविको खेल मैदानमा सुरु भएको महोत्सव आगामी माघ २७ सम्म सञ्चालन हुनेछ ।

मंगलबार राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका अध्यक्ष रिता थापा मगरको प्रस्तुति रहेको थियो । बुधबार मेलामा लोक दोहोरी गायक राजन कार्की, गणेश अधिकारी, लोकपप गायक अर्जुन कौशल, हास्यकलाकार पुर्खे बा, लोक दोहोरी गायिका पुजा सिंजाली मगर, डान्सर अस्मिता रानाको प्रस्तुति रहने छ । कार्यक्रम सञ्चालिकामा कल्पना रेग्मी रहनु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?