श्रमिकका लागि कार्यस्थलमा आधारित तथा जीवन उपयोगी सीप विकास सम्बन्धी तालिम रामपुरमा सुरु

पाल्पा ,रामपुर नगरपालिकाले सडक मर्मतकर्मीहरुका लागि ५० दिने तालिम शुरु गरेको छ ।

नेपाल सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रमको युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजना अन्तर्गत श्रमिकहरुका लागि कार्यस्थलमा आधारित तथा जीवन उपयोगी सीप विकास सम्बन्धी तालिमको आयोजना गरेको हो ।प्रधानमन्त्री रोजगार कार्यक्रममा वडा नं.२,४,६,७ र ८ नम्बर वडाबाट छनौट भएका सडक मर्मतकर्मीहरुका लागि ५० दिने जीवन उपयोगी सीप र कार्यस्थलमा आधारित सिप प्रदान गरिने भएको हो ।प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत प्राथमिकिकरणको आधारमा वडा/वडाबाट छनौट भएका सुचिकृत वेरोजगारहरुलाई तालिम दिईएको हो । तालिममा सहभागिलाई १० दिने जीवन उपयोगी सीप र ४० दिन कार्यस्थलमा आधारित सीप प्रदान गरिनेछ ।

मंगलबार तालिमको शुभारम्भ गर्दै रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले मानिसको जिवनमा सीप महत्वपूर्ण हुने बताउनुभयो । उहाँले ज्ञान र सीपलाई पैसा संग तुलना गर्न नहुने भन्दै सक्षम र दक्ष बन्नका लागि सीपको विकास गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो। आफु संग ज्ञान सीप र दक्षता भए स्वरोजगार र आत्मनिर्भर बन्न सकिने बताउनुभयो ।यस्तै रामपुर नगरपालिका वडा नं.5 का अध्यक्ष दुर्गा प्रसाद पोखरेलले दक्षता र सीपले मानिसलाई सफल बनाउने भन्दै आर्थिक समृद्धि पनि सीपबाटै सम्भव रहेको बताउनुभयो । उहाँले हरेक व्यक्ति सबै विषयमा दक्ष हुन नसक्ने भन्दै सम्बन्धित विषयमा पूर्ण रुपमा दक्ष बन्न आवश्यक रहेको भन्दै तालिममा सिकाएका कुरा इमान्दारिताका साथ सिक्न आग्रह गर्नुभयो ।रामपुर नगरपालिका रोजगार शाखा प्रमुख गणेश प्रसाद रेग्मीले सडक मर्मत र जीवन उपयोगी सीप विकासका लागि तालिमको आयोजना गरिएको बताउनुभयो । यसैगरी लुम्बिनी पोलिटेक्निकल इन्ष्टिच्युट बुटवल रुपन्देहीका प्रबन्धक अरुण अर्यालले तालिममा सडक मर्मत संग सम्बन्धित विभिन्न सीप सिकाईने बताउँदै निरन्तर रुपमा सहभागि भई दक्ष बन्न आग्रह गर्नुभयो ।

रामपुर नगरपालिकाको आयोजना र लुम्बिनी पोलिटेक्निकल इन्ष्टिच्युट बुटवल रुपन्देहीको सहजीकरणमा ५० दिन सम्म चल्ने तालिम अन्तर्गत १० दिन सम्म दैनिक जिवन संग जोडिने विषय र ४० दिन कार्यस्थलमा गई वाल लगाउने,सडक मर्मत कसरी गर्ने,सुरक्षा,उपकरणको प्रयोग लगायतका विविध विषयमा सीप सिकाईने छ । रामपुर नगरपालिका वडा नं.२,४,६,७ र ८ का ४० श्रमीकहरुको सहभागिता रहेको तालिमको सहजिकरण लुम्बिनी पोलिटेक्निकल इन्ष्टिच्युटका प्रशिक्षक जनकराज अर्यालले गर्नु भएको छ ।

 

रामपुर नगरपालिका वडा नं.५ का अध्यक्ष दुर्गा प्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । नगरसभाहलमा भएको तालिम उद्घाटन कार्यक्रम रोजगार शाखा प्रमुख गणेश प्रसाद रेग्मीको स्वागत र रोजगार सहायक चिरिञ्जिवि सिग्देलको सञ्चालनमा सम्पन्न भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?