माघ २२ ।
पाल्पा, रामपुरमा जारी चौथो रामपुर महोत्सव तथा व्यापार मेलामा आठौं दिन पनि दर्शकहरुको उत्साहजनक सहभागीता जनाएका छन् । रामतुलसी माविको खेल मैदानमा जारी महोत्सवमा मंगलबार पनि दर्शकहरुको घुँईचो लागेको थियो ।
मेलामा चार हजार पाँच सय पचास भन्दा बढी दर्शकले टिकट खरिद गरी अवलोकन गरेकाे छन् । गत माघ १५ देखि रामपुर उद्योग वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षणमा भएको मेलामा आठौं दिन एक सय रुपियाँ र सहुलियतको टिकट विक्री बाट एकै दिन तीन लाख ८२ हजार पाँच सय रुपियाँ आम्दानी भएको टिकट छपाई, विक्री एवं व्यवस्थापन उपसमितिका संयोजक ज्ञानेन्द्र प्रसाद गैरेले जानकारी दिनुभयो । विशेष टिकट खरिद गरेका दर्शक, संघका सदस्य, पदाधिकारी, स्वंयसेवक, ८० वर्ष माथिका जेष्ठ नागरिक, स्टल धनी, झाँकीमा सहभागी विभिन्न समूह र पास लिनु भएका व्यक्तित्वहरुको गणना गरिएको छैन ।
कालीगण्डकी वेशी क्षेत्रकोे पहिचान, स्थानीय उत्पादनको बजारिकरण, कला संस्कृतिको संरक्षण, पर्यटन प्रवद्र्धन एवं उद्योग, व्यापार र पर्यटनको सम्भावनाको उजागर गर्ने उद्देश्यका साथ “आर्थिक समृद्धिका लागि उद्योग र व्यापार कालीगण्डकी उपत्यका विकासको आधार” भन्ने नाराका साथ सुरु भएको मेला स्थल दर्शकहरुले भरिभराउ रहेको थियो । मेलामा ४ सय भन्दा बढी व्यापारिक स्टलहरु रहेको छ । स्टलमा स्थानीय कृषि उपज, घरेलु तथा कुटीर उद्योग, हस्तकला तथा महिला उद्यमीले उत्पादन गरेका सामग्री, मौलिक खानाका परिकारलाई प्राथमिकता दिईएको संघले जनाएको छ । संघले स्थानीय तह, तथा विभिन्न संघ संस्थाको समन्वयमा स्थानीय उत्पादन सहितका स्थल उपलब्ध गराएको छ ।
साथै विभिन्न जातजातिहरु मगर, नेवार, दरै र चेपाङको मौलिक खानाको स्टल रहेको छ । मेलामा अटो मोबाईल, प्रतिष्ठित उद्योग बाट उत्पादित सामग्री तथा स्थानीय उत्पादन सहितको व्यापारिक स्टल, बालउद्यान, कृषि प्रदर्शनी, विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शनी, मौलिक खानाका परिकार विक्री वितरण, घरेलु तथा साना उद्योग एवं महिला उद्यमीबाट उत्पादित बस्तु प्रदर्शनी तथा विक्री हेलिकप्टर, प्यारागलाईडिङ्ग बाट दृश्य अवलोकन, अण्डर वटर फिस टनेल, क्लव स्तरीय भलिबल प्रतियोगिता, दैनिक राष्ट्रिय कलाकारहरुको प्रस्तुति सहित लोक दोहोरी प्रतियोगिता, रामपुर डान्स आईडल, ऐतिहासिक धार्मिक, एवं पर्यटकिय स्थलको फोटो प्रदर्शनी आकर्षणको रुपमा रहेको छ ।महोत्सवमा रामपुर महोत्सव कप भलिबल प्रतियोगिता चलिरहेको छ । मेलामा मंगलबार सर्जक एवं राष्ट्रिय कलाकार दुर्गा रायमाझि, सर्जक एवं लोक दोहोरी गायक शिव हमाल, लोकदोहोरी गायिका ईब्सल सन्ज्याल, गायक रमेशराज भट्टराई, डान्सर सलिना थापाको प्रस्तुति रहेको थियो । कार्यक्रम सञ्चालकमा रुपेश कार्की रहनु भएको थियो ।
बुधबार मेलामा लोकदोहोरी गायक प्रकाश दुतराज, गायिका कोपिला न्यौपाने, आधुनिक गायक संजिव सिं राना, हास्यकलाकार कमल भट्टराई, विजय वम्डेल, नृत्यकार सरिता दानकुगीको प्रस्तुति रहने साँस्कृतिक संयोजक दिपक केसीले जानकारी दिनुभयो । बुधबारको कार्यक्रम प्रस्तोतामा रामकृष्ण थापा रहनु भएको छ । मंगलबार महोत्सवलाई हरिनास गाउँपालिका स्याङ्जाका अध्यक्ष खिम नारायण मानन्धर, तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले सम्बोधन गर्नु भएको थियो । अौपचारिक कार्यक्रमको सञ्चालन महासचिव खिम बहादुर केसी पुरुषोत्तमले गर्दै आउनु भएको छ ।मेला आगामी माघ २७ सम्म सञ्चालन हुनेछ।