रामपुर महोत्सवमा भएको लोकदोहोरी प्रतियोगिताको उपाधि नमस्ते होटललाई


माघ २२ ।
पाल्पा, चौथो रामपुर महोत्सव तथा व्यापार मेलाको अवसरमा भएको लोकदोहोरी प्रतियोगिताको उपाधि नमस्ते होटल पाल्पाको समूहले हात पारेको छ । गत माघ १७ देखि सुरु भएको प्रतियोगिता अन्तर्गत मंगलबार भएको फाईनलमा राष्ट्रिय लोक तथा गित प्रतिष्ठान पाल्पालाई पछि पार्दै नमस्ते होटेल- पाल्पाले उपाधी जितेको हो ।

उपाधी संगै नमस्ते होटल पाल्पाले नगद ५१ हजार १११ रुपियाँ र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ । नमस्ते होटलको तर्फ बाट दिपेन्द्र पौडेल र सीता भण्डारीले प्रतिस्पर्धा गर्नु भएको थियो । यस्तै सुमन थापा र सिमा सारुले प्रतिनिधित्व गर्नु भएको राष्ट्रिय लोक तथा गित प्रतिष्ठान पाल्पाले द्वितीय स्थान संगै ३१ हजार १११ र प्रमाण पत्र प्राप्त गरेको छ ।

प्रतियोगिताको तृतीय स्थान छनौटका लागि भएको प्रतिस्पर्धामा पृथ्वी टेलिभिजन रामपुर र होटल श्रीनगर रामपुरले समान अंक प्राप्त गर्दै दुवै टिमले तृतीय स्थान हासिल गरेको छ । तोयानाथ वि.क. र विपना खनालले प्रतिनिधित्व गर्नु भएको पृथ्वी टेलिभिजन र विष्णु आजात र भुवन अधिकारीले प्रतिनिधित्व गर्नु भएको श्रीनगर होटल रामपुरले २१ हजार १११ प्राप्त गरेको छ ।

आठ समूहको सहभागीता रहेको प्रतियोगितामा राष्ट्रिय लोक तथा गित प्रतिष्ठान स्याङ्जाका सुदिप सापकोटा लाई उत्कृष्ट गायक र चापाकोटका मनिषा पोखरेललाई  उत्कृष्ट गायिका घोषित गरिएको दोहोरी गित प्रतियोगिताका संयोजक एवं राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान केन्द्रिय अध्यक्ष नारायण खनाल ‘लेकाली’ ले जानकारी दिनुभयो । फाईनल प्रतियोगिताको मूल्यांकन संयोजकमा वरिष्ठ लोक तथा दोहोरी गायक एवं सर्जक दुर्गा रायमाझी रहनु भएको थियो ।

प्रतियोगिताका विजेता समूहलाई रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल, वरिष्ठ उपाध्यक्ष रुद्र नारायण श्रेष्ठ, उद्योग उपाध्यक्ष भरतराज देवकोटा, वाणिज्य उपाध्यक्ष विष्णु बहादुर सारु, महासचिव खिम बहादुर के.सी. पुरुषोत्तम, संस्कृतिक कार्यक्रम संयोजक दिपक के.सी. लगाएत पदाधिकारीहरुले चेक र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । साथै प्रतियोगिताको अवसरमा दोहोरी गितमा साथ दिने अन्य कलाकारहरुलाई पनि सम्मान गरेको थियो ।
आगामी माघ २७ सम्म हुने महोत्सवमा दैनिक राष्ट्रिय कलाकारहरुको उपस्थितिमा सांस्कृतिक कार्यक्रम र दोहोरी समेत हुँदै आएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?