पाल्पा, रामपुर नगरपालिकाले नगरको मुख्य व्यापारिक केन्द्र बेझाँड बजार सहित आसपासका क्षेत्रको पसल अनुगमन गरेको छ । बजार क्षेत्रका व्यवसायीलाई थप सचेत गराउने उद्देश्यका साथ अनुगमन गरेको हो ।
चाडपर्वलाई मध्यनजर गर्दै नगरपालिकाले रामपुर उद्योग वाणिज्य संघ, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय र सञ्चारकर्मीहरुको रहोबरमा अनुगमन गरेको हो । रामपुर नगरपालिकाका नगर उपप्रमुख तथा अनुगमन समितिका संयोजक विष्णुदेवि घिमिरे आचार्यको संयोजकत्वमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्य, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल, ईलाका प्रशासन कार्यालय रामपुरका प्रमुख अशोक कुमार आचार्य, रामपुर ५ का वडा अध्यक्ष हिमाल मल्ल, रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरी पाण्डेय, रामपुर नगरपालिकाका आन्तरिक लेखा परिक्षक हृदयश पन्थी, पशु सेवा शाखा प्रमुख तुल्सीराम काफ्ले, ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायव निरिक्षक जंग बहादुर श्रेष्ठ सहितका जनप्रतिनीधि, कर्मचारी र पत्रकारहरुको टोलीले रामपुर नगरपालिका ५ बेझाड बजार, बाङ्गेपसल रोड लगाएतका १२ वटा पसलहरुको अनुगमन गरेको हो । विहिबार ४ वटा फेन्सी, २ वटा डेरी, ४ वटा मासु पसल र २ वटा किराना पसल गरी बिहिबार १२ वटा पसलको अनुगमन गरेको थियो ।
अनुगमनको क्रममा बजार क्षेत्रमा सडक मिचेर राखिएका सामान तत्काल हताउन, मासु तथा डेरी पसलहरु सफा राख्न, पसलहरुमा मुल्यसूची अनिवार्य गर्न तथा पसलहरुमा भौतिक दुरी कायम हुने गरी डोरी राख्न निर्देशन दिइएको रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यले जानकारी दिनुभयो । त्यस्तै रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवी घिमिरे आचार्यले कोभिडको कारण अनुगमन कम भएको भन्दै अब निरन्तर रुपमा अनुगमन हुने बताउनुभयो । उहाँले सटर नजिक पेटीमा व्यवसायीहरुले राखेको सामान अझै हटाउन अटेर गरिरहेको भन्दै अब नगर प्रहरी खटाएर जफत गरिने बताउनुभयो ।
रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले अनुगमनलाई त्रासको रुपमा नभई सचेतनाको रुपमा लिन आग्रह गर्नुभयो । उहाँले व्यवसायीहरु थप सचेत भएर आफ्नो व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभयो ।