अन्धकारमुक्ति साकोसको सेवा केन्द्र स्तरिय साधारण सभा सकियो, वार्षिक साधारण सभाका लागि प्रतिनिधि चयन

पाल्पा, अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाको सेवा केन्द्र स्तरिय साधारण सभा सम्पन्न भएको छ । २३ औं वार्षिक साधारण सभा अन्तर्गत विहिबार केन्द्रिय कार्यालय र सहयोगी सेवा केन्द्रको सम्पन्न गरे संगै सेवा केन्द्र स्तरिय साधारण सभा सम्पन्न भएको हो ।

९ हजार ५ सय ६५ भन्दा बढी सेयर सदस्य आवद्ध जिल्ला कै ठूलो सहकारीले कोरोना महामारीको जोखिमलाई ध्यानमा राख्दै सेवा केन्द्र स्तरिय साधारण सभा मार्फत वार्षिक साधारण सभामा नीति तथा कार्यक्रम तय गर्नका प्रतिनिधि चयन गरेको छ । बुधबार रामटार, ढुङ्गानाबेसी, जब्गादी, ताहुँ सेवा केन्द्रको साधारण सभा भएकोमा विहिबार रामपुर क्षेत्रका शेयरधनीहरुको सहभागीता रहने गरी दरैठाँटी माध्यमिक विद्यालयको सभाहल विजयपुर साधारण सभा गरेको हो ।

साधारण सभाको उट्घाटन गर्दै रामपुर नगरपालिका ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेले सहकारीले अनुशासन र संस्कार सिकाएको बताउनुभयो । उहाँले पुँजी निर्माण गर्ने मात्र नभई सहित व्यवस्थापन गर्न सहकारीले दिएको ज्ञानले यस क्षेत्रको आर्थिक रुपान्तरणमा महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउनुभयो । बचत गर्नुका साथै अनुसाशीत र एकताबद्ध हुनका लागि सहकारीले दिएको ज्ञानले सामाजिम कार्यमा पनि टेवा दिएको उल्लेख गर्दै थप प्रगतिको शुभकामना दिनुभयो । संस्थाका सल्लाहाकार तथा रामपुर नगरपालिका ७ का वडा अध्यक्ष तिर्थ प्रसाद पंगेनीले समय सापेक्ष नीति तथा कार्यक्रम परिमार्जन गरि कार्यान्वयनमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । उहाँले सहकारीलाई मजबुत बनाउन व्यवस्थापन संगै संगठनिक पक्षलाई चलायमान बनाउनु आवश्यक रहेको बताउनुभयो ।

सहकारीका संस्थापक अध्यक्ष मोहन भट्टराईले सहकारीलाई उन्नति तर्फ लैजान शेयर सदस्यहरुको भुमिका महत्वपूर्ण हुने बताउँदै सुझाव दिएर सहयोग गर्नु आवश्यक रहेको बताउनुभयो । जिल्ला सहकारी संघ पाल्पाका सदस्य कृष्ण कुमार अर्यालले सरकारले सहकारी मर्जरको नीति ल्याए पनि सामाजिक र व्यवहारिक रुपमा अझै अघि बढ्न नसकेको बताउनुभयो । सल्लाहकार सदस्य सुकदेव पोखरेलले कमीकमजोरीहरुको सुधार गर्दै अघि बढ्न आग्रह गर्नुभयो । सल्लाहाकार दयाराम भट्टराईले सहकारी अहिले विशिष्टकृत अवस्थामा आईपुगेको बताउँदै, अब यसलाई कसरी व्यवस्थापन गर्नका लागि समय परिवेश अनुसारको नीति तथा कार्यक्रममा जोड दिनु पर्ने बताउनुभयो । सल्लाहाकार कमलराज भट्टराईले सहकारीले उत्कृष्ट कार्य गर्दै आएको भन्दै चौतर्फी विकासको शुभकामना व्यक्त गर्नुभयो ।

समाजसेवी विष्णु प्रसाद रेग्मीले नयाँ प्रविधिको प्रयोगमा जोड दिनु आवश्यक रहेको र सहकारीले ब्राण्डको रुपमा लैजानका लागि कुनै उत्पादन शिल क्षेत्रमा पनि लगानी गर्ने तर्फ पनि सोच्ने समय आएको बताउनुभयो । सहकारीका लेखा समिति सदस्य रामप्रसाद ढकालले वित्तिय संस्थाहरु बढ्दै जाँदा संस्था पिच्छे ऋण झिक्ने परिपाटीले थप समस्या ल्याउने देखिएको भन्दै यस तर्फ सचेत हुनु पर्ने समय आएको बताउनुभयो । कार्यक्रममा शेयर सदस्य बन्दना पोखरेल, देविलाल अधिकारी, सुनिता राना र मित्रा ढकालले सहकारीले विना धितो ऋण प्रवाह गरेर सहकारीले साना व्यवसायीहरुलाई ठूलो राहत प्रदान गरेको बताउनुभयो ।

साधारण सभाको अवसरमा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाले सहकारीले पाल्पाको ४ वटा पालिका भित्र सेवा प्रदान गर्दै आएकोमा सेवा क्षेत्र विस्तार गरी पाल्पा भरी नै सेवा पुर्याउन लागि परेको बताउनुभयो । उहाँले सेवा केन्द्र थप गरी जिल्लाभर सेवा विस्तार गर्ने र समय सापेक्ष प्रविधि मैत्री सेवाका लागि लागि परेको जानकारी गराउनुभयो । अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रम, उपाध्यक्ष खगेन्द्र न्यौपानेको स्वागत र सचिव ओम प्रकाश बस्यालको सञ्चालनमा भएको हो । सहकारीले यस वर्ष ३ करोड ८६ लाख खुद नाफा गर्न सफल भएको छ । सेवा केन्द्र स्तरिय वार्षिक साधारण सभा बाट छनौट भएका प्रतिनिधिहरुको उपस्थितिमा संस्थाले २३ औं वार्षिक साधारण सभा शनिबार नमस्ते होटेल बेझाँडमा गर्न लागिएको संस्थाका व्यवस्थापक दिपेन्द्र प्रसाद पौडेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?