पाल्पा, रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले काठमाडौं पुगेर नगरबासीलाई राहत प्रदान गर्नु भएको छ । रोजगारी तथा अध्ययनको शिलशिलामा उपत्यकामा रहेका नागरिकहरु लकडाउनले प्रभावित भएको भन्दै नगरपालिकाको तर्फ बाट स्वयम आफै उपस्थित भएर राहत वितरण गर्नु भएको हो ।
विश्व महामारीको रुपमा फैलिएको कोरोना संक्रमण बाट बचाउन जारी लकडाउनका विच काठमाडौ पुगेर थापाले आफ्नै उपस्थितिमा राहत प्रदान गर्नु भएको हो । थापाले पाल्पा काठमाडौ सम्पर्क समितिका सचिव अमृत अधिकारी र क्षेत्रीय संयोजक आचार्य गुरु आचार्य गुरु तुलसीराम पोखरेललाई काठमाडौमा रहेका नगरवासीहरु लगत संकलन गरी अवस्था बुझ्न लगाउनु भएको थियो । संयोजक पोखरेलले चामल सबैलाई बराबर दिईएको र अन्य खाद्य सामाग्री परिवार संख्याको आधारमा प्रदान गरिएको बताउनुभयो । काठमाडौंका विभिन्न स्थानमा बसोबास गर्दै आएका नगरबासीहरुको लगत संकलन गरी ३३ परिवारका ८५ जनालाई खाद्यान्न प्रदान गरिएको छ । १ जना मात्रलाई २५ केजी चामल, आधा लिटर तेल, १ केजी दाल, आधा केजी सोयाविन, २ जना वा २ जना भन्दा बढी परिवारलाई २५ केजी चामल, १ लिटर तेल, २ केजी दाल र १ केजी सोयाविन प्रदान गरिएको हो ।
थापाले काठमाडौ बस्ने भने पछि पुगेरै बसेको भन्ने बुझाई रहे पनि दैनिक ज्यालादारी गरेर परिवार पाल्दै आएकाहरु समस्यामा रहेको पाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “सामान्यतया काठमाडौमा रहेकालाई खासै समस्या छैन होला भन्ने लाग्दछ, तर यहाँ रहेकाहरुको अवस्था झन नाजुक देखियो, गाउँमा त बरु खानकै लागि कसैलाई पनि समस्या हुदैन, तर यहाँ भने खानाकै पनि ठूलो समस्या भएको रहेछ ।” उहाँले सरकारले जहाँ छन् त्यहि स्थानको पालिकाले सहयोग गर्ने भने पनि अप्ठ्यारोमा परेका नगरबासीको अभिभावकत्व ग्रहण गर्नु नगरपालिकाको दायित्व रहेको बताउनुभयो । उहाँले नगरपालिकाको कर्तव्य निर्वाह गरेको बताउनुभयो । थापाले भन्नुभयो, ‘भोट माग्न मात्र नगरबासीको घर जाने हैन नी ! यस्तो समयमा त मानवताको हिसाबले पनि सहयोग गर्नुपर्छ । मानवता सँगसँगै आफु नगरपालिकाको अभिभावक भएको नाताले नगरबासीलाई सहयोग गर्न काठमाडौं पुगेको हुँ ।’
थापाले पोखरा, बुटवल लगाएत देशका मुख्य शहरहरुमा रहेका नगरबासीको पनि लगत संकलन भैरहेको भन्दै ती ठाउँहरुमा पनि आवश्यक परेमा राहतको व्यवस्था गरिने जानकारी दिनुभयो । नगरबासीको सुरक्षा प्रथामिकताको विषय भएको भन्दै विदेशमा रहेका युवाहरुको पनि तथ्याङ्क संकलन भएको बताउनुभयो । यस अघि चैत्र ९ गते नगरपालिकाले काठमाडौं बाट १ सय ६८ जना लाई रामपुर ल्याएको थियो । घर आउन चाहानेहरुले लाई सके सम्म आफु भएको स्थानमा बस्न आग्रह गर्दै नगरप्रमुख थापाले १४ दिन क्वारेन्टाईनमा बस्ने शर्तमा ल्याउने बताउनु भएको थियो । तर पाल्पाको जिल्ला प्रशासन कार्यालयले स्विकृति नदिए पछि सो कार्य स्थगित भएको थियो । उहाँले प्रशासनले स्विकृत दिएमा जुनसुकै बेला नगरवासीलाई गाउँ ल्याउन तयार रहेको बताउनुभयो । नगरपालिकाले पैडल मार्फत घर फर्कनेहरुलाई स्वास्थ्य परीक्षण गरी क्वारेन्टाइनमा राखेको नगरपालिकाले जनाएको छ ।
नगरभित्र भएका दिर्घरोगी तथा नियमित औषधि सेवन गर्नेलाई लकडाउनले समस्या पारेपछि त्यस्ता व्यक्तिहरुको घरघमै नगरपालिकाले औषधि समेत वितरण गरिरहेको छ । यता रामपुर नगरपालिकाले खाद्यान्न संकट टार्न २ वर्ष भन्दा पहिलेदेखि बाँझो रहेका जमिनमा खेती गर्नेलाई अनुदानको व्यवस्था गरेको छ । रामपुर नगरपालिकाका नगर प्रमुख थापाले गाउँ फर्केका र फर्कन चाहेका युवाहरुलाई व्यवसाय सञ्चालनको लागि व्याज अनुदानको पनि व्यवस्था गरेको जानकारी दिनुभयो ।