पाल्पा,रामपुर नगरपालिकाको आर्थिक सहयोगमा हराभरा महिला कृषि सहकारी संस्था रामपुर ७ पाल्पाले कृषकहरुलाई अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ । रामपुर नगरपालिकाको सहयोगमा सञ्चालित धान खेती पकेट विकास कार्यक्रममा सहभागी कृषकहरुलाई ५० प्रतिशत अनुदानमा ११ वटा हाते ट्याक्टर वितरण गरेको हो ।
कृषकहरुलाई साविक कृषि सेवा केन्द्रको परिसरमा कार्यक्रम गरी शनिबार ट्याक्टर हस्तान्तरण गरेको थियो । रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापा मगर, प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले ट्याक्टर हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका उपप्रमुख थापाले कृषि उत्पादन वृद्धिका लागि आधुनिकिकरण संगै यान्त्रीकरण अपरिहार्य रहेको बताउँदै नगरपालिकालाई कृषि उपजमा आत्म निर्भर बनाउन नगरपालिकाले कार्यक्रमहरु अघि सारेको बताउनुभयो । उहाँले कृषकहरुलाई व्यवसायीक बन्न अनुरोध गर्दै नगरपालिका सहकार्य गर्दै अघि बढ्न सदा तप्पर रहेको बताउनुभयो ।
रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले संघ, प्रदेश अन्तर्गतका सशर्त कार्यक्रम संगै नगरपालिकाले पनि कृषिमा थप पहल चालेको बताउनुभयो । साथै प्राप्त सामाग्रीको उच्चतम सदुपयोगमा ध्यान दिन आग्रह गर्नुभयो । रामपुर नगरपालिकाका प्रवक्ता एवं वडा नं. १ का वडा अध्यक्ष कपिल बहादुर खाँणले नगरका केही स्थानमा पकेट कार्यक्रम सञ्चालन गरे पनि त्यस बाट प्राप्त अनुभव साट्दै अघि बढ्न कृषकहरुलाई अनुरोध गर्नुभयो ।
रामपुर ७ का वडा अध्यक्ष दोवराज तिवारीले वडालाई कृषिमा आत्मनिर्भर बनाउनका लागि अहिले अदुवा बेसार खेती र धान खेती प्रवद्र्धनको कार्यक्रम सञ्चालन भैरहेको जानकारी गराउँदै टोलटोलमा कृषि समुह गठनलाई निरन्तरता दिएको बताउनुभयो । साथै तिवारीले बाँदर प्रभावित क्षेत्रमा अकबरे खुर्सानी खेतीको परिक्षण गरी व्यवसायिक रुपमा अगाडी बढाउने प्रयास भैरहेको उल्लेख गर्नुभयो ।
रामपुर नगरपालिकाका कार्यपालिका सदस्य दुर्गा देवी गौतम र रामपुर ७ का वडा सदस्य खेमराज अधिकारीले कृषकहरुलाई आत्मनिर्भर बनाउने आधार व्यवसायी र आधुनिकिकरण भएको बताएका थिए । नेपाल पत्रकार महासंघ पाल्पाका सदस्य दुर्गेश मल्लले नगरलाई कृषिमा आत्मनिर्भर बनाउन एक वडा एक पकेट कार्यक्रम सञ्चालन गर्नु पर्ने सुझाव राख्नुभयो । रामपुर ७ का वडा अध्यक्ष दोवराज तिवारीको अध्यक्षतामा भएको कार्यक्रम हराभरा महिला कृषि सहकारी संस्थाका अध्यक्ष गीता देवी भट्टराईको स्वागत र रामपुर नगरपालिका कृषि शाखा अधिकृत रामहरी पाण्डेको सञ्चालनमा भएको छ ।
धान पकेट कार्यक्रम अन्तर्गत यस वर्ष ५ सय ९१ रोपनीमा धान लगाईदै छ । शनिबार २२ हर्स पावरको १ वटा, ९ हर्स पावरको ६ वटा र ७ हर्ष पावरको ४ वटा हाते ट्याक्टर प्रदान गरिएको हो । यस अघि कृषकहरुलाई धानको विउ संगै आवश्यक सामाग्रीहरु प्रदान गरिएको थियो ।